साताको सेयर बजार : नेप्से परिसूचक ११४ अंकले गिरावट

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। सातामा तीन दिन मात्रै कारोबार हुँदा नेप्से परिसूचक ११४.०४ अंकले घटेको छ।

गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रूपमा गिरावट आएकाे छ। नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन बिहीबार दुई हजार ६६१.४४ बिन्दुमा रोकिएको थियो। यो साताको बुधबारसम्मको  कारोबारमा ११४.०४ अंकले गिरावट आएर दुई हजार  ५४७.०४ बिन्दुमा खुम्चिएको छ। प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो। आइतबार सेन्सेटिभ इन्डेक्स ०.७३ अंकले घटेको थियो। उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता सेयर तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भयो। 

त्यस्तै, साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक ४३.१२ अंकले घटेर २६१०.६० बिन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो। मंगलबार महाशिवरात्रि पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो।

बुधबार एकै दिन नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर दुई हजार ५४७.०५ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ११.३८ अंकले गिरावट आएको छ। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ। आज बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से कोरोबार बन्द रहेको छ।

बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको सेयर बजारमा लगानीकर्ताले एक खर्ब ६२ अर्ब दुई करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब सात अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ।

सुझावित समाचार