३८ दिनमा ५३ बाट तीन प्रतिशतमा झर्‍यो संक्रमणदर

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

तीन जिल्लामा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित

नयाँ भेरियन्ट ओमिक्रोनले ल्याएको कोरोनाको तेस्रो लहरमा ५३ प्रतिशतसम्म पुगेको संक्रमणदर घटेर तीन प्रतिशतमा झरेको छ । ३८ दिनअघि ५ माघमा संक्रमणदर हालसम्मकै उच्च ५२.६ प्रतिशत पुगेकोमा पछिल्लो २४ घन्टाको संक्रमणदर तीन प्रतिशत मात्रै देखिएको हो ।

शनिबार पाँच हजार एक सय ५२ नमुना परीक्षण गरिएकामा एक सय ५५ मा मात्रै संक्रमण पुष्टि भएको छ । संक्रमण बिस्तारै सामान्य अवस्थामा फर्किँदै गएको छ । सक्रिय संक्रमितको संख्या पनि आठ हजार आठ सय ३९ मा झरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाडौं, ललितपुर र कास्की तीन जिल्लामा मात्रै पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौंमा सबैभन्दा धेरै १६ सय ४९ र ललितपुरमा ११ सय १५ संक्रमित छन् । त्यस्तै, दुई सयभन्दा बढी संक्रमित हुनेमा प्रदेश १ का मोरङ र सुनसरी, मधेसको धनुषा, बागमतीको चितवन, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलालीमा मात्र छन् । शनिबार ३७ जिल्लामा मात्र नयाँ संक्रमित देखिएका छन् । 

विश्वमै संक्रमण तीव्र घटिरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वका अधिकांश देशमा दैनिक संक्रमणदर पाँच प्रतिशतभन्दा कम छ । संक्रमणदर शून्यमै झर्ने चिकित्सकहरूको दाबी छ । सामान्यतया सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा कम भएमा महामारी सकिँदै गएको संकेत मान्न सकिने विश्व स्वास्थ्य संगठनले बताएको छ । 

कुल जनसंख्याको ५९.५ प्रतिशतले लगाए पूर्ण खोप
नेपालमा कुल जनसंख्याको ५९.५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित वर्गअन्तर्गत वयस्कमा ७८.५ प्रतिशतले पूर्ण र ९१.४ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, बालबालिकामा ४६ प्रतिशतले पूर्ण मात्रा र ८९ प्रतिशतले एक मात्रा लगाएका छन् । 

हालसम्म तीन करोड ६९ लाख ४३ हजार दुई सय ४२ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयको रिपोर्ट छ । शनिबार मात्रै एक लाख २९ हजार एक सय १९ डोज खोप प्रयोग भएको छ । पछिल्ला दिन दैनिक खोप लगाउनेको संख्या एक लाखभन्दा बढी भएकाले लक्षित वर्गमा खोप लगाउन बाँकी न्यून हुँदै गएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

See More On

सुझावित समाचार