मदनलालको ‘मृत्युले मुसारेको मानिस’को अन्तर्क्रिया

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

मदनलाल पौड्यालद्वारा लिखित आत्मकथा ‘मृत्युले मुसारेको मानिस’माथि रुपन्देहीमा अन्तर्क्रिया गरिएको छ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग सहकार्य गर्ने अवसर पाएका रुपन्देहीका पौड्यालको पुस्तकमाथि समीक्षात्मक अन्तर्क्रिया कार्यक्रममा यस क्षेत्रका साहित्यकारदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरूको जमघट रहेको थियो। राजनीति तथा पत्रकारिता क्षेत्रमा लामो समय बिताएका पौड्यालको संघर्षको इतिहास पुस्तकमा समेटिएको छ।

मुलुकको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पौड्यालले कम्युनिस्ट आन्दोलनमा होमिँदा र आन्दोलनका क्रममा भोगेका विषयहरू पुस्तकमा समावेश गरेका छन्। आफ्ना कुरा सधैँ स्पष्ट रूपमा राख्ने लेखकले पुस्तकमा पनि सोअनुरूप घटनाहरू प्रस्तुत गरेको अन्तर्क्रियामा सहभागी साहित्य क्षेत्रका व्यक्तिहरूले बताए। पुस्तकमा राजनीतिक इतिहास, भौगोलिकतादेखि सामाजिक परिवेशका विषयहरू समेटिएको भन्दै साहित्यमा रुचि राख्नेहरूका अतिरिक्त राजनीति तथा अन्य क्षेत्रका व्यक्तिका लागिसमेत पठनीय रहेको वक्ताहरूले प्रतिक्रिया दिए।

कार्यक्रममा जंगबहादुर शाह, गिरी श्रीस मगर, रामचन्द्र श्रेष्ठ, देवी पाण्डे, डा. राजेन्द्र खनाल, लक्ष्मण ज्ञवाली, वनमाली निराकार, बालकृष्ण भट्टराई, इन्दिरा अर्याल, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ऋषिराम भुसाल, एकराज पाण्डे, भुवन अर्याललगायतले पुस्तक र लेखकबारे चर्चा गरेका थिए। सो अवसरमा लेखक पौड्यालले पुस्तक लेख्दाका अनुभव सुनाए। पुस्तकको केही साताअगाडि काठमाडौंमा  विमोचन गरिएको थियो।

सुझावित समाचार