नेपालले लिने सार्वजनिक ऋणको आकार बढेसँगै त्यसको साँवा–ब्याज भुक्तानी रकम पनि बढ्दै गएको छ । चालू आवको ६ महिनामा नेपालले सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न ६२ अर्ब रुपैयाँ खर्चिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा नेपालले सार्वजनिक ऋणको ४१ अर्ब १२ करोड २४ लाख रुपैयाँ साँवा र २० अर्ब ९५ करोड ७० लाख ब्याज भुक्तानी गरेको हो ।
यस अवधिमा सरकारले विदेशी ऋणको साँवातर्फ १२ अर्ब १२ करोड २४ लाख रुपैयाँ र ब्याजतर्फ तीन अर्ब ४१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, आन्तरिकतर्फ २९ अर्ब साँवा र १७ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको हो । कार्यालयका अनुसार यस अवधिमा नेपालले ४८ अर्ब ६६ करोड ९० लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । सरकारले ४२ अर्ब ६६ करोड विदेशी ऋण र ६ अर्ब रुपैयाँ आन्तरिक ऋण प्राप्त गरेको (थपेको) हो ।
ऋण भुक्तानीको तुलनामा प्राप्ति बढी हुँदा पनि नेपालको कुल सार्वजनिक ऋणको आकार भने आठ अर्बले घटेको छ । असार मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तमा आइपुग्दा ऋणको आकार १७ खर्ब २८ अर्ब ९३ करोडमा झरेको छ । नेपाललाई विदेशी विनिमय दरमा भएको परिवर्तनबाट लाभ मिल्दा (विनिमय लाभ) ऋणको आकार आठ अर्ब १५ करोडले घटी देखिएको हो । भुक्तानी गर्न बाँकी सार्वजनिक ऋणमा वैदेशिकतर्फ नौ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ र आन्तरिकतर्फ सात खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
पौने १६ अर्ब विनिमय लाभ
विदेशी विनिमय दरमा आएको परिवर्तनका कारण यस अविधमा नेपाललाई पौने १६ अर्ब रुपैयाँ लाभ भएको छ । डलरको भाउ प्रतिएक डलरमा दुई रुपैयाँ २० पैसाले कमी आएको कार्यालयले जनाएको छ । यसरी डलरको भाउ घटेपछि नेपाललाई १५ अर्ब ७० करोड रुपैयाँ विनिमय लाभ भएको हो । विनिमय लाभ भएका कारण ऋणको आकारसमेत घटेको देखिएको कार्यालयका सूचना अधिकारी हीरा न्यौपानेले बताए । ‘यसबीचमा सार्वजनिक ऋणको भुक्तानीको तुलनामा प्राप्ति बढी भएको छ,’ उनले भने, ‘तर, विनिमय लाभका कारण ऋणको आकारमा कमी देखिएको हो ।’
जिडिपीको अनुपातमा साढे ४० प्रतिशत ऋण
नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋणको अनुपात ४०.५३ प्रतिशत पुगेको कार्यालयले जनाएको छ । हाल नेपालको जिडिपीको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँबराबरको रहेको छ । यसको तुलनामा आन्तरिक ऋणको अनुपात १८.२८ प्रतिशत र विदेशी ऋणको अनुपात २२.२४ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।