नेपालले चीन सरकारबाट अनुदानमा पाएका भन्सारमा मालवस्तु तथा कन्टेनर स्क्यान गर्ने दुई ठूला स्क्यानर (एक्स–रे मेसिन) प्रयोगमै नआई काम नलाग्ने भएका छन् । चीनले ०६० सालमा नेपाललाई दुईवटा स्क्यानर मेसिन दिएको थियो । कन्टेनरसमेत स्क्यान गर्न सकिने मेसिन (भेहिकल स्क्यानर) लाई सुक्खा बन्दरगामा राखिएको थियो भने मालवस्तु स्क्यान गर्ने अर्को ठूलो आकारको स्क्यानर मेसिन (एक्स–रे) भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो । सुरुमा चीनका प्राविधिक जनशक्तिको सहयोगमा केही समय ती स्क्यानर सञ्चालन गरिएका थिए । सुक्खा बन्दरगाहमा भेहिकल स्क्यानर सञ्चालनका लागि चीनले केही कर्मचारीलाई चीनमै लगेर तालिमसमेत दियो । त्रिभुवन विमानस्थलमा भने चिनियाँ पक्ष आफैँ बसेर भेहिकल स्क्यानर चलाएका थिए । तर, जसै उनीहरू गए, त्यसपछि मेसिन चलेन ।
तत्कालीन समयमा जनशक्तिको अभाव, उच्च लागत र लोडसेडिङका कारण ती स्क्यानर प्रयोग गर्न नसकिएको बुझिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए । ‘चीनले हामीलाई दुईवटा ठूला स्क्यानर मेसिन अनुदानमा दिएको रहेछ,’ उनले भने, ‘सुरुमा केही समय ती मेसिन चलाइएको रहेछ, तर पछि दक्ष जनशक्तिको अभाव र सञ्चालन लागत बढी देखिएपछि मेसिन प्रयोगविहीन भएछन् ।’ त्यसवेला लोडसेडिङका कारणसमेत मेसिन प्रयोगमा आउन नसकेको पाइएको उनले जानकारी दिए ।
अर्थ मन्त्रालय र भन्सार विभागमा लामो समय काम गरेका पूर्वसचिव शिशिरकुमार ढुंगानाले ०६० सालतिरै चीनले नेपाललाई स्क्यानर मेसिन अनुदानमा दिएको बताए । ड्राइपोर्टमा भेहिकल स्क्यानर र एयरपोर्टमा ठूलो एक्स–रे मेसिन राखिएको उनले बताए । तर, प्राविधिक समस्याका कारण दुवै स्क्यानर खासै प्रयोगमा नआई प्रयोगविहीन भएको उनले बताए । ‘म अर्थ मन्त्रालय प्रवेश गर्नुअघि अर्थात् ०६३ अघि नै स्क्यानर नेपालमा आइसकेको थियो,’ उनले भने, ‘तर, तत्कालीन समयमा जनशक्तिको अभाव भएको तथा प्राविधिक समस्याले मेसिन नचलेको पछि मलाई रिपोर्टिङ गरिएको थियो ।’ अहिलेचाहिँ प्रविधि पुरानो भएर ती मेसिन काम नलाग्ने भएको उनले बताए । दुईवटै स्क्यानर चलाउने प्रयत्न गरिएको भए पनि प्राविधिक कारण सम्भव नभएकोे उनले बताए । ‘प्रविधि पुरानो भएका कारण ती स्क्यानर मर्मत–सम्भार गरेर चलाउन सक्नेसमेत देखिएको थिएन,’ ढुंगानाले भने, ‘त्यसैले ती स्क्यानर प्रयोगविहीन भए, त्यसै थन्किन पुगे ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा रहेको ठूलो आकारको स्क्यानर (एक्स–रे मेसिन) लामो समयदेखि प्रयोगविहीन रहेको कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा १२ वटा स्क्यानर (एक्स–रे मेसिन) रहेका छन् । हातेब्याग स्क्यान गर्ने चारवटा, लगेज स्क्यान गर्ने ६ वटा र कार्गो स्क्यान गर्ने दुईवटा मेसिन रहेका छन् । विमानस्थलमा थप स्क्यानर (एक्स–रे मेसिन) आवश्यक रहेको उनले बताए । कार्गो र लगेजका लागि स्क्यानर (एक्स–रे) मेसिन आवश्यक रहेको उनले बताए । खासगरी ठूला आकारका स्क्यानर मेसिन आवश्यक रहेको उनले बताए ।