निक्सन र माओ भेटको ५० वर्षपछि

निक्सन र माओबीचको तत्कालीन भेटले अमेरिका र चीनबीच सहकार्य हुन नसके विश्वमा सम्भवतः कहिल्यै स्थायी शान्ति कायम हुँदैन भन्ने संकेत गरेको थियो, जुन अहिले यथार्थ देखिँदै छ

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङबीचको पहिलो भेटबारे इतिहासकार मार्गरेट म्याकमिलनले लेखेको उत्कृष्ट पुस्तक ‘सिज द आवर’मा सो असाधारण भेटका गम्भीर निष्कर्षको विश्लेषण गरेकी छिन् । आजभन्दा ५० वर्षपहिलेको सो भेटले कम्युनिस्ट चीन र अमेरिकाबीचको लामो राजनीतिक खिचातानी अन्त्य गरेको थियो र नयाँ भूराजनीतिक युग सुरु भएको थियो । भेटले अमेरिका र चीनबीच सहकार्य हुन नसके विश्वमा सम्भवतः कहिल्यै स्थायी शान्ति कायम हुँदैन भन्ने संकेत गरेको थियो ।    

तर चीन–अमेरिका सम्बन्धको आधार के हुने ? निक्सन र उनका राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि सो भेटवार्ता विश्वका दुई महत्वपूर्ण कम्युनिस्ट मुलुक (चीन र सोभियत संघ) बीच दरार ल्याएर सोभियत संघको विश्वव्यापी प्रभावलाई कमजोर बनाउनु रहेको थियो । अमेरिकामा जे–जस्तो प्रतिष्ठा भए पनि माओसँगको भेटले वैश्विक नेताका रूपमा निक्सनको प्रतिष्ठा बढायो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ इनलाईका अनुसार ‘दूरदर्शी पुरुष’ निक्सनले प्रतिकूल अवस्थामा मुलुकको बाटो परिवर्तन गरेका थिए, जसले चीन र अमेरिकाबीचको सम्बन्ध–व्यवहार नै परिवर्तन गरेको थियो ।    

सो भेटका अल्पकालीन प्रभाव पनि थिए । निक्सनको भेटले उत्तरी भियतनामलाई अमेरिकाको भियातनाम युद्ध अन्त्य गर्ने प्रयासप्रति सम्भवतः उत्तरदायी हुन सघाएको थियो । सोभियत संघ निश्चय नै ऐतिहासिक अमेरिका–चीन मेलमिलापबाट अत्यन्त चिन्तित थियो । 

तर, फर्केर हेर्ने हो भने निक्सन–माओको भेटका महत्वपूर्ण परिणाम सो भेटपछिका ठूला घटनाक्रमको विकासपछि सतहमा देखिए । चिनियाँ नेता माओ र चाउ दुवैको निधन भएको दुई वर्षअघि सन् १९७४ मा निक्सनको पतन भएको थियो । निधनपछि माओका उत्तराधिकारी हुवा गुफिङले सांस्कृतिक क्रान्तिका वेलाका माओका मुख्य कट्टरपन्थी साझेदारहरू भनेर मानिएका ‘ग्याङ अफ फोर’लाई तुरन्तै बेदखल गरे । बेदखलीले देङ सियाओ पिङलाई सत्तामा पुनरागमन गर्न मार्ग–प्रशस्त गरायो र विश्वमा चीनको आर्थिक खुलापनको सुरुवात भयो । यदि चीन अमेरिका र बाँकी विश्वसँग नजोडिएको भए यो अवस्था कहिल्यै आउँदैनथ्यो ।  

त्यसपछिका दशकमा खुला विश्व बजारमा निर्यातले गराएको अभूतपूर्व आर्थिक वृद्धिले चीन र चिनियाँ सम्भावनामा रूपान्तरण नै ल्यायो । आर्थिक र व्यापारिक वातावरण, जसले चिनियाँँ चमत्कारलाई सम्भव बनायो, ती वातावरण मूलतः धनी विश्वका लोकतन्त्रका अन्तर्राष्ट्रिय नीतिले सिर्जना गरेको थियो । १५ वर्षको अवधिमा (सन् १९९० को दशकसहित) अमेरिकामा चिनियाँ निर्यात एक हजार ६ सय प्रतिशतले बढ्यो ।   

तर, चिनियाँ वस्तु र लगानीका लागि विश्व बजारहरू धेरै हदसम्म खुला हुँदा चीनले भने अपेक्षाकृत रूपमा पारस्परिक व्यवहार आदान–प्रदान गर्न भने सकेको छैन । चीनले अमेरिका र युरोपबाट बौद्धिक सम्पत्ति चोरी गरेको छ र थुप्रै मुलुकलाई भ्रमपूर्ण व्यापार लाभका लागि राजनीतिक रूपमा अधीनस्थ हुन माग गरिरहेको छ । सन् २००१ मा चीनले थुप्रै मुलुकलाई विश्व व्यापार संगठनको सदस्य हुन राजी गरायो, तर चीन आफैँले संगठनका नियम बंग्याउँदै र तोडमरोड गर्दै आएको छ ।       

राष्ट्रपति सी जिनपिङ नेतृत्वमा आएपछि चीन थप निर्लज्ज दादागिरीको रबैया अपनाइरहेको छ । सीको चीनले आर्थिक, सुरक्षा र राजनीतिक मुद्दाहरूमा गरेका आफ्नो प्रतिबद्धता तोडेको छ । हङकङमाथि नियन्त्रण जमाएको छ । साउथ चाइना सीका टापुहरूमा सैन्यकरण गरेको छ, ताइवानलाई धम्की दिएको छ र सिनजियाङमा मुसलमान उइगुरविरुद्ध नरसंहारको नीति अपनाएको भनेर आरोपित पनि भएको छ । यसलाई अमेरिकी राजनीतिक परिदृश्यमा जोखिमयुक्त निगरानी राज्यका रूपमा लिइँदै छ, जहाँ यस्तो राज्यले खुला समाज र सन्तुलित विश्वव्यापी व्यवस्था सिर्जना गर्ने प्रयासमा खतरा उत्पन्न गर्छ ।

अमेरिका र अन्य लोकतन्त्रका लागि चुनौती भनेको डरलाग्दो कम्युनिस्ट चीनसँगको सम्बन्धलाई व्यवस्थापन गरेर अगाडि बढ्नु हो । र विश्वको भविष्यलाई प्रभावित गर्ने मुद्दाहरूविशेषतः जलवायु परिवर्तनलाई सम्बोधन गर्नु हो । सीको सत्ताले अन्तर्राष्ट्रिय सम्झौताअनुसार काम गर्नुपर्छ भन्ने स्विकार्दैन र स्वीकारयोग्य शासन निर्माण गर्ने खुला समाजका विचारलाई पनि तिरस्कार गर्छ । तर, हामीले चीनलाई रोक्दै गर्दा चीनलाई अलग्याउनु भने हुँदैन ।  

यदि निक्सन अहिले ज्युँदै हुन्थे भने उनले हामीलाई चीनको कम्युनिस्ट सत्ताले लोकतान्त्रिक समाजको सामथ्र्यलाई अस्तित्वको खतराका रूपमा लिएर भयभीत भइरहेको छ भन्ने सम्झाउँथे । आखिर खुला समाजमा स्वतन्त्र प्रेस, सचेत नागरिकप्रति जवाफदेही सरकार र आलोचनात्मक सोचलाई प्रोत्साहन गर्ने शिक्षा प्रणाली हुन्छ । जब लोकतान्त्रिक मुलुकहरूले आफ्ना शासकीय मूल्य–मान्यताको बोध गर्छन्, उनीहरूलाई चीनका अगाडि निर्धक्क भएर उभिन डराउनुपर्दैन ।

निक्सनको ऐतिहासिक चीन भ्रमणको पचास वर्षपछि पनि यी मूल्य–मान्यता सर्वसत्तावादभन्दा बढी दिगो देखिएका छन् । चीनको अकाट्य प्राविधिक विकासबाट लोकतान्त्रिक मुलुकहरू सम्मोहित हुनुपर्दैन, किनभने चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो र त्यहाँ ठूलो संख्यामा सक्षम नागरिक छन् । उदेकलाग्दो के छ भने चीनले थप राम्रो गर्नुपथ्र्यो तर गरेन । जे भए पनि चिनियाँँ सफलताले सम्पूर्ण मानवतालाई फाइदा पु¥याउनेछ भनेर आशा गर्नुपर्छ, जसरी खुला समाजको उन्नतिले चीनलाई फाइदा पु¥याएको छ ।
तर आधुनिक युगमा चीनले कहिल्यै स्वीकार्य एवं दीर्घकालीन शासन व्यवस्था निर्माण गर्न सकेन । चीन खुला समाजका मूल्य–मान्यताका लागि खडा हुनु भनेको आफू र अन्य सबै मुलुकलाई सहयोग गर्ने सर्वोत्तम उपाय हुन सक्छ । प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार