कोरोना संक्रमणको तेस्रो चरणको अन्त्यतिर नेपाल पुगेको छ । संक्रमणदर पाँच प्रतिशतमा झरेसँगै देशको जनजीवन सामान्य बनेको हो । दैनिक पाँच प्रतिशतभन्दा कम संक्रमणदर भएमा अवस्था सामान्य पुगेको बुझिन्छ । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनले भारतमा पाँच प्रतिशतभन्दा कम संक्रमणदरलाई सामान्य अवस्थाका रूपमा लिने गरेको बताउँछन् । तर, नेपालमा यसको ठ्याक्कै यति भनेर प्रतिशत संख्या उल्लेख नभएको उनको भनाइ छ । पाँच प्रतिशत संक्रमणदर दुई हप्तासम्म रहेमा अवस्था सामान्य भएको बताउन सकिने डा. पुनको तर्क छ । भारतमा जे समस्या देखिन्छ, त्यसको केही दिनमा नेपालमा पनि देखिने भएकाले यहाँ पनि सोही प्रतिशतलाई आधार बनाउन सकिने विषयमा भने चिकित्सकहरू सहमत छन् ।
आइतबार देशभर १० हजार एक सय १५ नमुनाको परीक्षण गर्दा पाँच सय २१ जनामा पोजेटिभ देखिएको छ । यो संख्या प्रतिशतका हिसाबले ५ दशमलव २ हो । यस अवधिमा १० जनाको मृत्यु भएको छ । संक्रमित संख्या ह्वात्तै घटे पनि मृत्युको संख्या स्थिर रहेकाले जोखिम भने अझै जारी रहेको चिकित्सकहरू बताउँछन् । देशभर २२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार करिब–करिब ओमिक्रोन लहरको यो अन्त्यजस्तै हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार आइसियू र भेन्टिलेटरमा पुग्नेहरू पनि बिस्तारै घटिरहेका छन् । आइसियूमा एक सय ८१ र भेन्टिलेटरमा ३३ जना भर्ना छन् । अस्पतालमा आठ सय ९२ जना मात्रै छन् । आइसियूमा भर्ना भएकाहरू सबैजसो राजधानीमा छन् । तथ्यांकअनुसार बागमती प्रदेशमा एक २९ जना, प्रदेश १ मा १७ जना, लुम्बिनीमा १५ जना, सुदूरपश्चिम र गण्डकीमा आठ–आठजना तथा मधेस प्रदेशमा चारजना भर्ना भएका छन् । बागमती प्रदेशमा भेन्टिलेटरमा २८, सुदूरपश्चिममा चार र प्रदेश १ मा एकजना उपचाररत छन् ।