वासिङ्टनमा हरेक युद्धअघि सुनिने ‘शक्ति देखाइनुपर्ने’ माग चर्को भएसँगै ७५ वर्षयताको सबैभन्दा भयानक युरोपेली युद्धको सम्भावना यथार्थमा बदलिने डर बढेको छ
युद्धका परिणाम अपेक्षाअनुसार हुँदैन । युद्ध विज्ञहरूले प्रक्षेपण गरेभन्दा बिलकुल फरक रूपमा अघि बढ्न सक्छ । नपत्याए भियतनाम, अफगानिस्तान र इराकका युद्धको गुलाबी परिदृश्य प्रदान गर्ने अधिकारीका त्यसबखतका भनाइ हेर्नुहोस्, जो भयानक रूपमा गलत साबित भए । तिनलाई हेरेर पनि हामीले युक्रेनमाथि छाएको विनाशकारी युद्धको सम्भावनालाई कूटनीतिक रूपमा समाधान गर्ने सक्दो प्रयास गर्नुपर्छ ।
युक्रेनमा युद्धले कस्तो मानवीय मूल्य निम्त्याउँछ, थाहा छैन । एक प्रक्षेपणले ५० हजार नागरिक हताहत हुन सक्ने र दशौँ लाख मानिस विस्थापित हुन सक्ने देखाएको छ । युक्रेनमा युद्ध भड्कियो भने त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा भयानक द्वन्द्व हुन सक्छ । यो ‘क्षेत्रीय’ युद्ध युरोपका अन्य भागमा फैलिने सम्भावना पनि छ । त्यसपछि उत्पन्न हुन सक्ने घटनाक्रम झन् डरलाग्दो हुनेछ ।
रुसविरुद्ध प्रतिबन्ध र ती प्रतिबन्धविरुद्धको रुसको जवाफी कारबाहीले ठूलो आर्थिक उथलपुथल निम्त्याउन सक्छ । जसको प्रभाव विश्वभरका मानिसको ऊर्जा, बैंकिङ, खाद्यान्न र अन्य दैनिक आवश्यकतामा पर्नेछ । युद्धले विकास गर्ने तनावमा विश्वव्यापी जलवायु संकट र भविष्यका महामारीका जोखिमलाई सम्बोधन गर्न आवश्यक अन्तर्राष्ट्रिय सहकार्य बिथोलिनेछ ।
यस संकटका लागि सबैभन्दा बढी जिम्मेवार भ्लादिमिर पुटिन नै हुन् । सन् २०१४ मा युक्रेनको केही हिस्सा कब्जा गरिसकेका पुटिन अहिले सम्पूर्ण देश कब्जा गर्ने र युक्रेनी लोकतन्त्रलाई नष्ट गर्ने धम्की दिँदै छन् । मेरो विचारमा हामीले स्पष्ट रूपमा युक्रेनको सार्वभौमसत्तालाई समर्थन गर्नुपर्छ । साथमा पुटिन र उनका सहयोगीले आफ्नो मार्ग बदलेनन् भने अन्तर्राष्ट्रिय समुदायले गम्भीर कदम चाल्नेछ भन्ने स्पष्ट बताउनुपर्छ ।
हरेक युद्धअघि ‘शक्ति देखाइदिनुपर्ने’, ‘कठोर हुनुपर्ने’ र ‘फकाउने क्रियामा सरिक हुन नहुने’ मागसहित चर्किने युद्धोन्मादी भाषाले मलाई धेरै चिन्तित बनाउँछ । यस क्षेत्रको तनावको जटिल जरा पहिचान गर्न अस्वीकार गरेमा वार्ताकारहरूको शान्तिपूर्ण समाधान गर्ने क्षमतामा असर पुग्छ ।
यो संकटको कारकमा युक्रेन र संयुक्त राज्य अमेरिका तथा पश्चिमी युरोपबीचको सम्भावित सुरक्षा सम्बन्ध पनि एक हो । यो सम्बन्ध विस्तार भएर पछि युक्रेन उत्तर एटलान्टिक सन्धि गठबन्धन (नेटो)मा सामेल हुने सम्भावनाबाट रुस त्रस्त छ । आखिरमा नेटो सन् १९४९ मा सोभियत संघ (रुसले आफूलाई यसको वैध उत्तराधिकारी मान्ने गर्छ)को प्रतिरोधमा गठन भएको थियो । सन् १९९१ मा सोभियत संघको पतनपछि युक्रेन र अन्य १४ मुलुक स्वतन्त्र बने ।
त्यसयता रुसी नेताहरूले पूर्वसोभियत संघको हिस्सा रहेका अन्य राज्यहरू नेटोको सदस्य बन्ने र आफूले सीमामा शत्रुतापूर्ण फौजको सामना गर्नुपर्ने स्थितिबारे चिन्ता जताउँदै आएका छन् । सुरुका दिनमा अमेरिकी नेतृत्वले रुसको यस सुरक्षा चिन्तालाई वैध मानेका थिए । अहिले पनि यो चिन्ता जायज छ । तर, यो चिन्ताको जवाफ रुसको आक्रमण होइन, न त नेटोको अडान नै हो । विश्वको सबैभन्दा विकसित र प्रजातान्त्रिक देशमध्ये एक फिनल्यान्डको सीमा रुससँग जोडिएको छ र उसले नेटो सदस्य नबन्ने भनी गरेको निर्णयलाई ध्यान दिनु यहाँ महŒवपूर्ण छ । पुटिन झुटा र उग्र होलान्, तर अमेरिकाले ‘प्रभाव क्षेत्र’को सिद्धान्तलाई स्विकार्दिनँ भन्नु उत्तिक्कै कपटी कुरा हो ।
विगत दुई सय वर्षदेखि अमेरिका ‘मोनरो डक्ट्रिन’अन्तर्गत सञ्चालन हुँदै आएको छ । यस सिद्धान्तले भन्छ– अमेरिका पश्चिमी गोलार्धको प्रधान शक्ति हो । यस अर्थमा यस भेगका कुनै पनि मुलुकले अमेरिकाको हितविरुद्ध कार्य गरेमा अमेरिकासँग तीविरुद्ध हस्तक्षेप गर्ने अधिकार छ । यही सिद्धान्तमा टेकेर अमेरिकाले कम्तीमा एक दर्जन सरकारलाई कमजोर वा अपदस्थ गरिसकेको छ ।
मोनरो डक्ट्रिनमै टेकेर सन् १९६२ मा अमेरिकी तटबाट ९० माइल टाढा क्युबामा सोभियत मिसाइल राख्ने निर्णयको प्रतिक्रियामा अमेरिकाले झन्डै सोभियत संघसँग आणविक युद्ध सुरु गरेको थियो । क्युबामा रहने सोभियत मिसाइललाई तत्कालीन केनेडी प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षामाथिको अस्वीकार्य जोखिमका रूपमा हेरेको थियो ।
मोनरो सिद्धान्त प्राचीन इतिहास होइन । पछिल्लोपटक सन् २०१८ मा डोनाल्ड ट्रम्पका विदेशमन्त्री रेक्स टिलरसनले मोनरो सिद्धान्त लेखिएको दिनजति नै आज पनि सान्दर्भिक छ भनेका थिए । सन् २०१९ मा ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ‘मोनरो सिद्धान्त जीवित रहेको’ बताएका थिए । रुसमा पुटिनजस्ता अधिनायकवादी नेताको शासन नभएर एक प्रजातान्त्रिक शासन हुन्थ्यो भने पनि उसले आफ्ना छिमेकीको सुरक्षा नीतिमा चासो दिने थियो । मेक्सिकोले अमेरिकाको विरोधीसँग सैन्य गठबन्धन बनाउँदा अमेरिकाले केही भन्दैन भनेर कसैले पत्याउला ?
देशहरू आफ्नो विदेशनीति छनोट गर्न स्वतन्त्र हुनुपर्छ, तर ती छनोट लाभ र हानिलाई गम्भीरतापूर्वक जाँचेर बुद्धिमानीपूर्वक लिइनुपर्छ । अमेरिका र युक्रेन बलियो सुरक्षा सम्बन्धमा प्रवेश गर्दा दुवै देशले गम्भीर मूल्य चुकाउनुपर्ने सम्भावना छ । हामीले वर्तमान तनाव कम गर्ने कूटनीतिक प्रयासलाई समर्थन जनाउनुपर्छ भने युक्रेनको स्वतन्त्रता तथा सार्वभौमसत्तालाई पुनर्पुष्टि गर्नुपर्छ । मुख्यतः ७५ वर्षयताकै सबैभन्दा खराब सम्भावित युरोपेली युद्ध रोक्न युक्रेन, रुस, अमेरिका र युरोपेली देशहरूलाई स्वीकार्य हुने व्यावहारिक समाधान खोज्न कडा मिहिनेत गर्नुपर्छ । द गार्जियनबाट