साथीभाइ र बैंकहरूसँग लिएको ऋण तिर्न नसकेर परिवारसहित बेपत्ता भएका मदिरा व्यापारी अमित अग्रवालले सम्पत्ति बिक्री गरेरै भए पनि ऋण तिर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बैंकको किस्ता र साथीभाइ एवं साहुहरूसँग सापटी लिएको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एक महिना ६ दिनपछि सार्वजनिक हुँदै अग्रवालले बैंकसँग करिब ८० करोड ऋण रहेको र त्यसमा एक अर्ब हाराहारीको धितो राखेको बताएका छन् । त्यस्तै, साथीभाइ र साहुहरूसँग २०–२५ करोड सापटी लिएको बताए । उनले मिटर ब्याजमा पैसा नलिएको, तर २४ प्रतिशतसम्म ब्याज तिरेर सापटी चलाएको बताए ।
अग्रवाल परिवार २२ पुसदेखि सम्पर्कविहीन भएका थिए । अग्रवालले बैंक तथा वित्तीय संस्थाहरू, साथीभाइ र साहुसँग गरी एक अर्ब रुपैयाँ हाराहारी ऋण रहेको बताए । अग्रवालले बैंकबाट लिएको ८० करोड ऋणमा एक अर्बको सम्पत्ति धितो राखेको र बजारबाट २० करोड हाराहारी उठाउनै बाँकी हुनाले सबैको ऋण तिर्न सकिने बताए । ‘म बरु दुई कोठा भाडामा लिएर बस्छु, तर सबैको पैसा चुक्ता गर्छु,’ उनले भने, ‘यसका लागि केही समय पक्कै लाग्न सक्छ ।’