डब्लुएचओ भन्छ– ओमिक्रोनजति नै गम्भीर
नेपालमा ओमिक्रोनको सहायक भेरियन्ट बिए.२ सक्रिय बन्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा जनवरीको सुरुवातदेखि नै बिए.२ सबभेरियन्ट देखिएको थियो । हाल संक्रमितमध्ये अधिकांशमा बिए.१ को तुलनामा बिए.२ भेरियन्ट सक्रिय भइरहेको प्रयोगशालाले जनाएको छ ।
अहिले ओमिक्रोन भेरियन्ट नै सक्रिय रहेकाले सबभेरियन्ट नछुट्याइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । ‘सबभेरियन्ट छुट्याउन छुट्टै परीक्षण आवश्यक छैन । जिन सिक्वेन्सिङको माध्यमबाट सबभेरियन्ट पनि पत्ता लगाउन सकिन्छ । नेपालमा जनवरीको सुरुवातदेखि नै बिए.२ देखिएको हो । अहिले अधिकांश नमुनामा बिए.२ नै सक्रिय छ,’ उनले भनिन् । ओमिक्रोनको तुलनामा बिए.२ बढी संक्रामक रहेको पाइए पनि गम्भीर नभएको चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बिए.२ सबभेरियन्ट नेपालसहित ५७ वटा देशमा पुष्टि भएको छ ।
नेपालमा जनवरीमै बिए.२ देखिन थालेको बताइए पनि हालसम्म संक्रामक दरबारे आधिकारिक तथ्य बाहिर ल्याइएको छैन । अस्ट्रेलियाको साइन्स एजेन्सी ‘सिरो’ले २७ जनवरीसम्म गरेको सर्वेक्षणले विश्वभर १० हजार आठ सय ११ नमुनामा बिए.२ सबभेरियन्ट देखिएको जनाएको थियो । जसमध्ये ९० प्रतिशतभन्दा बढी केस डेनमार्क, भारत र बेलायतमा देखिएको उल्लेख छ ।
ओमिक्रोनको तुलनामा सहायक भेरियन्ट बढी संक्रामक
हालसम्म सबैभन्दा बढी पुष्टि भएको डेनमार्कका स्वास्थ्य अधिकारीहरूले निकालेको प्रारम्भिक अध्ययनले बिए.१ को तुलनामा बिए.२ सबभेरियन्ट १.५ गुणा बढी संक्रामक पाइएको छ । अन्य प्रारम्भिक अध्ययनले समेत ओमिक्रोनको तुलनामा सहायक भेरियन्ट बढी संक्रामक रहेको देखाएका छन् । यद्यपि बिए.२ पनि ओमिक्रोनजति नै गम्भीर देखिएको डब्लुएचओका अधिकारीले बताएका छन् । डब्लुएचओको कोभिड–१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले अनलाइन सम्बोधनका क्रममा बिए.२ ले समेत गम्भीर समस्या निम्त्याउने र खोपको प्रभावकारितासमेत ओमिक्रोनको विभिन्न स्वरूपमा समान देखिएको बताएका हुन् ।
बिए.१ र बिए.२ बाहेक डब्लुएचओले ओमिक्रोनअन्तर्गत अन्य दुईवटा सबभेरियन्ट पनि देखिएको जनाएको छ । उच्च संक्रामक रहेका बिए.१.१.५२९ र बिए.३ पनि आनुवंशिक रूपमा ओमिक्रोनसँग नजिक देखिएका हुन् । तर, लगातार भइरहेका उत्परिवर्तनले भाइरल लोडमा फरक पार्न सक्ने विज्ञहरूले बताएका छन् ।
सार्स कोभिडमा वर्षौंदेखि अध्ययन गरिरहेका अमेरिकाको फ्रेड हचिन्सन क्यान्सर सेन्टरका भाइरोलोजिस्ट ट्रेभर बेडफोडले सबभेरियन्ट विश्वभर नै फैलिँदै गएको बताएका छन् । उनले ट्विट गर्दै सक्रिय संक्रमितमध्ये डेनमार्कमा लगभग ८२ प्रतिशत, बेलायतमा नौ प्रतिशत र अमेरिकामा आठ प्रतिशतमा स्टेल्थ भेरियन्ट देखिएको बताएका छन् । उनले यो तथ्यांक जिआइएस एड र अक्सफोर्ड विश्वविद्यालय कोभिडको तथ्यांकमा आधारित रहेको बताएका छन् ।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले २७ डिसेम्बरदेखि ११ जनवरीसम्म गरेको सर्वेक्षणमा सामान्य ओमिक्रोन १०.३ प्रतिशतमा देखिँदा स्टेल्थ १३.४ प्रतिशतमा फैलिएको पाइएको उल्लेख गरेको छ । अन्य ओमिक्रोन संक्रमण भइसकेका व्यक्तिमा बिए.२ संक्रामक रहे–नरहेको अझैसम्म गौण रहेको सिकागोको नर्थवेस्टर्न विश्वविद्यालयले जनाएको छ ।
पाँच वर्षमुनिका बालबालिकाका लागि खोप ल्याउने तयारी
पाँच वर्षमुनिका बालबालिकाका लागि फाइजरले बायोटेक कम्पनीसँग मिलेर परीक्षण गरिरहेको कोभिडविरुद्धको खोप फेब्रुअरीको अन्तिमसम्म ल्याउने तयारी भएको छ । हालसम्म परीक्षणमै रहेको खोप अपेक्षा गरिएभन्दा छिटो उपलब्ध हुन सक्ने फाइजरले जनाएको हो । उत्पादन कम्पनीहरूले ६ महिनादेखि पाँच वर्ष उमेर समूहमा आगामी मंगलबार आपत्कालीन प्रयोगको स्वीकृतिका लागि एफडिए पठाइने जनाएका छन् ।
बालबालिकामा प्रयोगका लागि खोप ट्रायलकै क्रममा रहे पनि समयमै डाटा समीक्षा गर्न समय चाहिने भन्दै एफडिएले स्वीकृतिका लागि आवेदन पेस गर्न सुझाएको हो । कम्पनीहरूले खोपको तेस्रो डोजमा केही महिनायता परीक्षण गरिरहेको जनाएका छन् । खोपको दुई डोज बालबालिकाका लागि प्रभावकारी नदेखिएको भन्दै तेस्रो डोजमा ट्रायल सुरु गरेका थिए । तेस्रो डोजमा भने मार्चको अन्तिमसम्मै ट्रायल गरिने बताइएको छ । कम्पनीहरूले हाल दुई डोज प्रयोगमा ल्याउने तयारी थालेका हुन् ।