कोभिडको समय चार्टर उडानमा बढी भाडा तिरेका यात्रुलाई उजुरी गर्न पर्यटन मन्त्रालयको आग्रह

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

कोभिड–१९ महामारीको समयमा गरिएका अन्तर्राष्ट्रिय चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य यात्रुहरूलाई एक हप्ताभित्र निवेदन दिन पर्यटन मन्त्रालयले आग्रह गरेको छ । पीडित यात्रुहरूले बढी भाडा तिरेको आधिकारिक कागजातसहित मन्त्रालयको आधिकारिक इमेल, ह्वाट्स एप वा भाइबरमार्फत गुनासो–निवेदन पठाउन सक्ने मन्त्रालयले जनाएको छ । 

कोभिड महामारीको पहिलो चरणमा लकडाउन घोषणा भएपश्चात् विभिन्न मुलुकमा अलपत्र परेका व्यक्तिलाई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको थियो । तर, चार्टर उडानमा एयरलाइन्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा बुझाएको हवाई भाडादरभन्दा यात्रुसँग बढी हवाई भाडा असुल गरेको गुनासो तथा उजुरी परेको थियो । यात्रुको गुनासोका आधारमा मन्त्रालयले छानबिन गर्न हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो । 

सो समितिले पनि चार्टर उडानमा विभिन्न एयरलाइन्सको टिकटमा यात्रुसँग तोकिएको भन्दा बढी भाडादर लिएको फेला परेको थियो । अहिले पनि चार्टर उडानमा ठगिएको गुनासो आइरहेको सन्दर्भमा हवाई भाडादर प्रकरण थप छानबिन गर्न मन्त्रालयले यात्रुसँग विवरण माग गरेको हो । साथै, चार्टर उडानको हवाई भाडादर प्रकरणलाई थप छानबिन गरेर यात्रुहरूको गुनासो सम्बोधन गर्न मन्त्रालयले पुनः छानबिन समिति गठन गरेको छ ।    

सुझावित समाचार