नेपाल–मोरिससबीचको मैत्रीपूर्ण खेल दर्शककै उपस्थितिमा

नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो, मोरिससको पनि दुई वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय खेल हो

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मोरिससबीचको दुर्ई मैत्रीपूर्ण खेलमा दर्शककै उपस्थितिमा गर्ने भएको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै दुई खेलमा दर्शकलाई दशरथ रंगशालामा प्रवेश गर्न दिने जानकारी दिएको हो ।

तर, रंगशालाको एकतिहाइ सिट मात्रै दर्शकले भरिने छन् । रंगशालाको कुल सित क्षमता १६ हजार पाँच सय रहेको छ । एकतिहाइले मात्र अनुमति पाउँदा पाँच हजार दर्शकले रंगशालामा प्रवेश पाउनेछन् । नेपाल र मोरिससबीच आगामी शनिबार र मंगलबार खेल हुनेछ । खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । एन्फाले स्वास्थ्य मापदण्ड अपनाएर मात्रै दर्शकलाई भित्र प्रवेश गराउनेछ । विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकले फुटबल खेल हेर्न सक्ने छन् । 

एन्फाले खेल हेर्नका लागि दर्शकलाई खोप कार्ड पनि अनिवार्य गरेको छ । यसैबीच एन्फाले टिकट मूल्यसमेत सार्वजनिक गरेको छ । एन्फाका अनुसार रंगशालाको भिआइपीतर्फ एक हजार र साधारणतर्फ पाँच सय रुपैयाँ राखेको छ ।

 मोरिससका चार खेलाडी संक्रमित 
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्न सोमबार नेपाल आएको मोरिससका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ । नेपाल आएपछि गरिएको परीक्षणमा चार खेलाडीमा संक्रमण देखिएको हो ।संक्रमित हुने खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केल्र्सन अगाथे र हान्स पटाटे छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आइसोलेसनमा रहेको मोरिसस टोलीले जनाएको छ । 

मोरिससको टोलीमा दुईजना गोलरक्षक छन् । यसमध्ये एक गोलरक्षक लोइस मिसेल संक्रमित छन् । शनिबार हुने पहिलो खेलमा केभिन ओब्राएन जान लुइसले मात्र गोलपोस्ट सम्हाल्ने छन् । नेपालले हालसम्म मैत्रीपूर्ण खेल खेल्ने टोली घोषणा गरेको छैन । यद्यपि, प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एक सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरूलाई नियमित प्रशिक्षण दिइरहेका छन् । 

प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा परेका ३४ खेलाडीलाई नै प्रशिक्षण दिइरहेका छन् । फिफा वरीयतामा नेपालभन्दा मोरिसस तीन स्थानले पछाडि छ । फिफाको पछिल्लो वरीयतामा नेपाल १६९औैँ र मोरिसस १७२औँ स्थानमा छ । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । मोरिससको पनि यो दुई वर्षपछिको अन्तर्राष्ट्रिय खेल हो । कोरोना महामारीका कारण टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । नेपालले भने गत अक्टोबरमा माल्दिभ्समा भएको दक्षिण एसियाली फुटबल च्याम्पियनसिपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि गत भदौमा नेपालले दशरथ रंशगालामै भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । 

सुझावित समाचार