गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट हुने अवस्था नरहेको बताए।
दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहे पनि सरकारले कोभिडविरुद्धको खोपबाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको टिप्पणी गरे। उनले सरकारका काममा जनता पूर्ण रूपमा खुसी नरहे पनि सरकारले विकासका कामहरूलाई अघि बढाइरहेको बताए।
‘सरकारले गरेका कामहरू पनि छन्, तर यतिले मात्रै पुगेन। सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो। देशमा अहिले के अवस्था छ ? अहिले मात्र सरकारको धारणा खोप कसरी जनतालाई पुर्याउने ? खोपले जनताको आत्मसन्तोष बनाउने काम मात्रै एउटा सोच हो जस्तो मलाई लाग्छ। पहिलेको सरकारले अघि बढाएको थियो, तर अहिलेको सरकारले काम सुरु गरेको छ। सरकारले गरेको गतिविधिमा टोटल्ली जनता खुसी छैनन्। तर, सुरुवात भएको छ,’ प्रदेश सभा सदस्य दवाडीले भने।