तीन वर्षमा सक्ने लक्ष्य राखेको विमानस्थल सात वर्षमा बल्ल तयार हुँदै
राष्ट्रिय गौरवको आयोजना गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान एक महिनाभित्रै गर्ने तयारी गरिएको छ । अहिले विमानस्थलको पूर्वाधार निर्माणको काम सकिएको छ भने विमानस्थलमा जडान भएका उपकरणहरूको परीक्षण गर्न परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) मात्र बाँकी छ । पछिल्लो एक वर्षदेखि यो काम बाँकी छ । क्यालिबे्रसन फ्लाइट गर्न थाइल्यान्ड, अमेरिका र युरोपका प्राविधिक केही दिनमा आउने परियोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । उनीहरु आएपछि एक महिनाभित्रै परिक्षण उडान गर्ने तयारी गरिएको उनको भनाइ छ।
क्यालिब्रेसन फ्लाइट अगाडि गर्नुपर्ने प्राविधिक चेकजाँचका लागि अमेरिका, अस्ट्रेलिया र थाइल्यान्डका प्राविधिक एकसाथ फिल्डमा हुनु आवश्यक रहेको उनले जानकारी दिए । कोरोनाकाल अगाडि विभिन्न मुलुकका प्राविधिकहरूले विमानस्थलको लाइटिङको काम गरिसकेका छन् ।
कोरोनाका कारण थाइल्यान्डले आफ्नै नागरिकलाई बाहिरी देश जाने अनुमति नदिँदा एक वर्षदेखि यो काम अलमलिँदै आएको थियो । अहिले अस्ट्रेलियन प्राविधिक आएर नेपाल नागरिक उड्डयन प्राधिकरणका १० जनालाई तालिम दिँदै छन् । जनवरी २४ मा थाइल्यान्डका प्राविधिक आउँदै छन् भने केही दिनमा अमेरिकाबाट पनि प्राविधिक आइपुग्ने भएपछि क्यालिब्रेसन फ्लाइट हुने आशा देखिएको छ ।
विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानसम्मको जिम्मा थाइल्यान्डको एरो थाई कम्पनीलाई थियो । कोरोनाका कारण एरो थाईका प्राविधिकहरू आउन नपाउँदा एक वर्ष अगाडि गर्नुपर्ने काम सर्दै आएको छ ।
सात वर्षमा आशा पलाउँदै
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माघ ०७१ मा शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुस ०७४ भित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर, माघ ०७८ सम्म आइपुग्दा बल्ल निर्माण सम्पन्न भई छिट्टै विमानस्थल सञ्चालनमा आउने आशा पलाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध विमानस्थल लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।
नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर, समयमै निर्माण कार्य सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरेर सातपटक म्याद थप गरेको छ । ०७२ को भूकम्प र मधेस आन्दोलनका कारण काम गर्ने वातावरण तयार नहुँदा निर्माणको म्याद सरेको थियो । त्यसैगरी, विमानस्थल निर्माण गर्ने क्रममा आवश्यक पर्ने नदीजन्य पदार्थ समयमै नपाउँदा पनि निर्माण कार्य प्रभावित भएको दाबी आयोजनाले गरेको थियो । लामो समय विमानस्थल निर्माण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीचको आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित पारेको थियो ।
विमानस्थल दुई चरणमा बनेको छ । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थल निर्माण भएको छ । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङलगायत संरचना निर्माण भएका छन् । आइसिपी–२ अन्तर्गत हवाईजहाज पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्राविधिक काम भएको छ ।
६ अर्ब २२ करोडको लागतमा सुरु भएको विमानस्थलको बजेट आठ अर्ब ८२ करोड पुगेको छ । भिजिबिलिटी कम हुँदा पनि उडान–अवतरण गर्न सक्ने आधारका केही भागहरू थप गरेका कारण विमानस्थल निर्माण बजेटमा केही वृद्धि भएको परियोजनाले जनाएको छ ।
साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो । विमानस्थल निर्माणका लागि करिब २३ अर्ब रकम मुआब्जा वितरण गरिएको थियो ।