सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ जब्दी जलपाई चोकका टीकाप्रसाद विश्वकर्मा (लामिछाने) ले आफूले दैवीशक्ति प्राप्त गरेको भन्दै लाखौँ ठगी गरेका छन्। आफूलाई दैवीशक्तियुक्त महामानव र ईश्वरको रूप भएको दाबी गर्ने विश्वकर्माले भक्तजनहरूलाई मध्यराति सप्तकोसी नदीमा लगेर देवलोकबाट देवी देवता प्रकट गराएर दर्शन गराउने दाबी गर्दै आएका थिए। भक्तजनहरूलाई मानवभन्दा एक चरण माथिल्लो प्राणीको रूपमा पुर्याएको दाबी गर्ने उनले ५ सयभन्दा बढी व्यक्तिको लाखौँ ठगी गरेको सार्वजनिक भएको छ।
बली पूजा, गुप्तवासको नाममा लाखौँ रकम उनले ठगेको पीडितहरूले बताएका छन्। ‘महामानव’का लागि उनीहरूले लाखौँ पर्ने जग्गासमेत खरिद गरिदिएको धरान– ८ का पीडित सीताराम मल्लले बताए। लामो समयदेखि विश्वास गरेर उनीहरूले बाबा भनिने टीकाप्रसाद र उनका चेलाले जेजति भने त्यति पैसा सुन चाँदी चढाउँदै आएका थिए। भने जति पैसा नचढाए र नदिए आफैँ भष्म हुने, आफूसँग भएको दैवीशक्ति लगाइदिने धम्की उनले दिने गरेक थिए।
विश्वकर्माले टिम नै बनाएर ठगी गर्ने गरेको देखिएको छ। विभिन्न देवी देउता भएर राति सप्तकोसीको तिरमा प्रकट हुनेहरू बाटोमा भेटिन थालेपछि उनको ठगीधन्दा बाहिर आएको थियो। त्यसपछि भक्तजनहरूले शंका लागेर अनुसन्धान गर्न थालेको पीडितमध्येका सीताराम मल्लले बताए। त्यसपछि आफूहरू ठगिएको भन्ने महसुस गरेर ती भक्तजनहरू बाबाको विरोधमा उत्रन थाले इनरुवाका जीवन रेग्मीले बताए।
लामो समयदेखि आफूहरू ठगिएको थाहा पाएपछि उनीहरू प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पुगेका छन्। तर, प्रशासनले उजुरीमाथि कारबाही गर्न बेवास्ता गरेपछि बिहीबार धरानका पत्रकारहरूलाई अवगत गराएका थिए।
यसरी फसेका थिए सर्वसाधारण
पीडितमध्येका एक धरान ८ का सीताराम मल्ल बहिनीको उपचार गर्न गएका थिए। बाबाको उपचारले सबै रोग निको हुने सुनेका मल्ल त्यहाँ पुगेपछि आफैँ मोहित भएर बाबाको पछि लागेको बताए। ठूलो धनराशी गुमाएका मल्ल पछिल्लो ९ महिनायता शंका लागेर उनले नै बाबामाथि अनुसन्धान सुरु गरेका थिए। कोसी नदीमा प्रकट हुने देवी देवताहरू देवलोकबाट आएका वास्तविक देवी देवता नभै महामानव भनिएका विश्वकर्माकै भाइभतिजा, आफन्तहरू भएको पत्ता लागेको उनले बताए। त्यसपछि आफू र अन्य भक्तजनहरूले विरोध गर्न थालेपछि मार्ने धम्कीसमेत आएको उनले बताए। ‘लोभ, डर प्रलोभन देखाएर धेरैलाई ठगिएको छ।
भक्तजनहरूले सुनसरीको महेन्द्रनगरमा ६ कठ्ठा १७ धुर जग्गासमेत खरिद गरी दिएका छन्। उक्त जग्गा बाबाकै आफन्त निलम माया मगरको नाममा रहेको मल्लले बताए।
आफ्नी श्रीमती बिरामी भएपछि बाबा भएको स्थानमा पुगेका धरान–९ का पटेलसिंह पनि ठगिएका छन्। धरानकै शान्ति लामिछानेले आफूलाई पनि राति कोसीमा लगेर मसानहरू देखाएको बताइन्। देवी देउता प्रकट भएको देखाएको उनले बताइन्। पछि श्रीमानको मृत्यु हुने वेला भएको भन्दै आयु थप गर्न विश्वकर्माले सुनचाँदी र पैसा मागेको उनले बताइन्। सुनचाँदी र पैसा बुझाएपछि श्रीमानको आयु जोडिएर ७८ वर्ष पुर्याएको भनेर बाबाले भनेको उनको भनाइ छ।
उनका श्रीमान् ६४ वर्षका थिए। विश्वासमा परेर आमाको गरगहना बेचेर लामिछानेले १ कट्ठा जमिन बाबालाई किनिदिएकी थिइन्। सपनामा सरस्वती देखेको र बाबालाई सुनाएपछि अब तिमी सरस्वती भएको बताएका थिए। मानवभन्दा एक कदमअगाडि भएको भन्दै ती बाबाले उपाधि दिएको उनले सुनाइन्। ती बाबाले इन्द्रजाल, मायाजाल किताब प्रयोग गरेर दुनियाँलाई भ्रममा परेको उनको भनाइ छ।
मानव कमजोरी सच्चाउन गुफा बास
सुनसरीको बराहक्षेत्र नगरपालिका जव्दीमा महामानव बासस्थान भनेर बोर्ड नै राखिएको छ। सोही आसपासमा गुफा बस्न अनकन्टार स्थानमा टहरा बनाइएको छ। मानवमा भएको कमजोरी सच्चाउन र मानवभन्दा एक स्तर माथि पुगेर जीवन बिताउन पाइने भन्दै उक्त गुफामा तीन चरण गरे १५ दिनसम्म राख्ने गरिएको पीडितमध्येका जीवन रेग्मीले बताए। हालसम्म १४० भन्दा बढीले गुफा बास बसेको बताइएको छ। पहिलोपटक ५ दिन बसेको १२ हजार, दोस्राेपटक १० हजार र तेस्राेपटक ८ हजार पैसा लिने गरेको पीडितहरूले बताएका छन्। सबै रोगव्याधी निको हुने भन्दै ‘ओली’ गर्न लगाउने र प्रतिव्यक्ति ४० हजार असुल्ने गरेको पीडित रेग्मीले बताए।
जिल्ला प्रशासन कार्यालयमा उजुरी
आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले एक साताअघि इलाका प्रहरी कार्यालयमा पीडितहरूले किटानी जाहेरी दिएका थिए। उनीहरूले ज्योतिष शिव सेवा केन्द्रको संस्थापक भन्ने टीकाप्रसाद विश्वकर्मा, सेवा केन्द्रका अध्यक्ष मनोजकुमार पोखरेल, सेवा केन्द्रका सचिव भूपेन्द्र खतिवडा र केन्द्रकै सदस्य निलम माया मगरको नाममा ठगीको किटानी जाहेरी दिएका थिए। तर प्रहरीले जाहेरी नै लिन नमानेको पीडित सीताराम मल्लले बताए।
उनीहरूले विभिन्न व्यक्तिको ५७ लाख ठगी गरेको उजुरीमा उल्लेख छ। प्रहरीले बेवास्ता गरेपछि पुन २१ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा आवश्यक कारबाही तथा अनुसन्धान गरी पाउँ भनी उनीहरूले निवेदन दिएका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय तहसँग समन्वय गरी कारबाही अगाडि बढाउन निर्देशन दिए पनि तत्काल कारबाहीको लागि पहल नभएपछि उनीहरू निराश भएर फर्केका थिए।
हामीले ईश्वर मानेका छौँ– सेवा केन्द्रका सचिव
यस विषयमा महामानव बताउने विश्वकर्मासँग फोन सम्पर्क गर्न प्रयास गर्दा उनी सम्पर्कमा आएनन्। सेवा केन्द्रका सचिव भूपेन्द्र खतिवडाले भने बाबालाई आफूहरूले ईश्वर मानेको प्रतिक्रिया दिए। ‘उहाँमा ईश्वरको रूप छ। लामो समय अनुसन्धान गरेर आफूहरू बाबाको पछाडि लागेका हौँ। उहाँहरूको आरोप गलत छ,’ उनले फोन सम्पर्कमा भने। विभिन्न व्यक्तिको करिब ५७ लालको ठगी दाबीको विषयमा भने खतिवडाले अस्वीकार गरे। उनीहरूले विश्वासले चढाएको पैसा भएको र यत्रो मूल्य नभएको बताए। उनले आरोप लगाउनेहरू नै ठग भएको बताउँदै पहिले बाबासँग मिलेर भक्तजनहरूको पैसा अपचलन गरेर तर अहिले हामीले संस्था बनाएर काम गर्न थालेपछि ठगी गर्न नपाएर उजुरी गरेको आरोप लगाए।
उनले पीडित भनिएकाहरूले संस्थासँग पाँच लाख रुपैयाँ मागेको र नपाएपछि उजुरी तथा मिडियामा गएको खतिवडाको आरोप छ। ‘ठगिनुभएको भए उहाँहरूले पहिल्यै किन कुरा उठाउनुभएन। १०/१५ वर्षसम्म किने चुप लागेर बस्नुभयो,’ खतिवडाले भने, ‘उहाँहरूको आरोप मात्र हो।’