गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजाभत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् । गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठाैँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाणले मन्त्रालयअन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीलाई खाजाभत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताए ।
उनले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने बताए । उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए ।
गृहमन्त्री खाणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरू आफैँले ९ देखि ५ बनाइदिनुभएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ। राम्रो प्रस्ताव हो भनेको छ, तर सहमति दिइसकेको छैन । कम्तीमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरूलाई, गृहमातहतका निकायहरूलाई ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुपर्यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरूले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थ मन्त्रालय यसमा उदार बनिदिनुहोस् ।’
गृहमन्त्री खाणले कर्मचारीलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीले सरकारलाई सचेत गराउनुपर्ने बताए । उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सदभाव हुने किसिमले काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । गृहमन्त्री खाणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीको भएकाले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे ।
सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने बताए ।