तुलसीपुरमा एकैदिन शिक्षक र विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

दाङको तुलसीपुरमा बिहीबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले २५ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सेन्टर माविका शिक्षक र विद्यार्थी गरी १५ तथा गुरुजजुर माविका ११ शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूलाई ओमिक्रोन हो वा होइन भनी परीक्षणका लागि सरुवा रोग अस्पताल टेकुमा स्वाब संकलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर मावि २७ पुससम्म बन्द गरिएको छ ।

दाङका पाँच विद्यालयमा कोरोनाको संक्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर–६ स्थित राप्ती बाल एकेडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार