संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।
विश्वविद्यालयले पछिल्लो २४ घन्टामा अमेरिकामा करिब १.०७ मिलियन नयाँ संक्रमण पुष्टि भएको र यो तथ्यांक विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति भएको जनाएको छ । नयाँ कोभिड–१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत चार लाख १८ हजार पुगेको छ ।
भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभावित गरेको छ । जसले श्रमिकको अभाव, हजारौँ उडान रद्द, र केही व्यवसायले फेरि ढोका बन्द गर्न बाध्य भएका छन् ।
दिल्लीमा सात महिनायताको सबैभन्दा बढी संक्रमण
भारतको दिल्लीमा पछिल्लो २४ घन्टामा पाँच हजार चार सय ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो सात महिनायाताकै सबैभन्दा बढी भएको संघीय मन्त्रालयले जनाएको छ । दिल्लीमा सबैभन्दा बढी संक्रमणदर १७ मेमा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो । सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ संक्रमित भेटिएको र संक्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो ।
कोरोनाभाइरस संक्रमितको वृद्धिसँगै दिल्लीमा सक्रिय संक्रमित पनि १४ हजार आठ सय ८९ पुगेको छ । यो पछिल्लो सात महिनाको समय अर्थात् २७ मेपछिको सबैभन्दा उच्च हो । २७ मेमा १६ हजार तीन सय ७८ व्यक्ति कोभिडबाट सक्रिय संक्रमित थिए । दिल्ली स्वास्थ्य विभागको बुलेटिनमा जनाएअनुसार दिल्लीमा आठ हजार पाँच सय ९३ सक्रिय संक्रमित सावधानीसाथ घरमा छुट्टै बसेका छन् । दिल्ली महानगरमा कुल संक्रमित १४ लाख ६३ हजार सात सय एक पुगेको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा ६५ हजार चार सय ८७ जनाको परीक्षण गरिएको थियो ।