नेपाल पनि जोखिममा, न्यूनीकरणको पूर्वतयारी नथाले आगामी फेब्रुअरीमा तेस्रो लहरको खतरा
ओमिक्रोन कुन देशमा कति ?
भारत : एक हजार चार सय ३१
पाकिस्तान : एक सय ३३
बंगलादेश : सात
नेपाल : तीनजना
कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी रूपमा फैलिइसकेको छ । नयाँ भेरियन्ट पुष्टि भएको एक महिनामै ओमिक्रोन एक सयभन्दा बढी देशमा फैलिएको छ । दक्षिण एसियाली मुलुकहरूसमेत ओमिक्रोनबाट अछुतो छैनन् । भारतलगायतका देशमा तीव्र फैलिन थालेको छ । दक्षिण एसियाका अफगानिस्तानबाहेक सबै देशमा फैलिइसकेको र डेल्टासहितको मिश्रणले दैनिक संक्रमण बढाएसँगै अर्को लहरको संकेतको रूपमा हेर्न थालिएको छ ।
हालसम्म सबैभन्दा धेरै भारतमा ओमिक्रोनका केस देखिएका छन् । पाकिस्तान, बंगलादेश र माल्दिभ्समा समेत ओमिक्रोनका केस बढ्दै गएको सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयले जनाएका छन् । हालसम्म भारतमा एक हजार चार सय ३१, पाकिस्तानमा एक सय ३३, बंगलादेशमा सात र नेपालमा तीनजनामा ओमिक्रोन पुष्टि भएको छ । बिहीबार पाकिस्तानको कराँचीमा एकै परिवारका ११ जनामा ओमिक्रोन पुष्टि भएको थियो ।
डा. सन्तोष दुलाल, भाइरोलोजिस्ट
अहिलेकै दरमा भारतमा संक्रमण बढ्ने हो भने अबको दुईदेखि तीन सातामा पिकमा पुग्छ । र, नेपालमा फेब्रुअरीको पहिलो सातातिर संक्रमणले पुनः एकपटक महामारीको रूप लिने जोखिम बढेको छ ।
अफगानिस्तानमा भने ओमिक्रोन परीक्षणका लागि आवश्यक मेसिन उपलब्ध नभएको त्यहाँको सरकारले जनाएको छ । छिमेकी राष्ट्र पाकिस्तान र इरानमा ओमिक्रोन फैलिइसकेकाले संक्रमणको जोखिम रहेको भन्दै आफगानिस्तान सरकारले परीक्षणका लागि आवश्यक मेसिन उपलब्ध गराइदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग माग गरेको छ ।
‘अहिले हामीसँग भएका पिसिआर मेसिनहरूले ओमिक्रोनलाई छुट्याउन सकिँदैन, यसलाई थप विकसित मेसिन चाहिन्छ । हामीले डब्ल्युएचओलाई सम्पर्क गरेका छौँ र उनीहरूले जनवरी अन्त्यसम्म उपलब्ध गराउने वाचा गरेका छन्,’ जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता जावेद हजरले भनेका छन् । तर, चिकित्सकहरूले ओमिक्रोन फैलिइसकेको आशंका गर्दै अफगानिस्तानले आर्थिक र राजनीतिक संकट झेलिरहेको समयमा महामारीलाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
ओमिक्रोन र डेल्टा भाइरसको मिश्रण मानिएको नयाँ लहरले पुनः महामारीको जोखिम बढाएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो समय अमेरिका, फ्रान्स, बेलायत, इटाली, पोर्चुगलसहितका देश तथा दक्षिण अफ्रिकी देशमा प्रत्येक दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाइरहेको छ । यही दरमा संक्रमण बढ्दै जाने हो भने केही सातामै स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने चाप बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम कति ?
भारतमा कोरोना संक्रमणले पुनः महामारीको रूप लिएपछि नेपालमा पनि संक्रमण बढ्ने चिकित्सकहरूको अनुमान छ । पहिलो र दोस्रो लहरको ट्रेन्डका आधारमा विश्लेषण गर्दा भारतमा फैलिएको केही सातामै नेपाल आइपुग्ने भएकाले सावधानी अपनाउने समय आएको भाइरोलोजिस्ट डा. सन्तोष दुलाल बताउँछन् । ‘अहिलेकै दरमा भारतमा संक्रमण बढ्ने हो भने अबको दुईदेखि तीन सातामा पिकमा पुग्छ । र, नेपालमा फेब्रुअरीको पहिलो सातातिर संक्रमणले पुनः एकपटक महामारीको रूप लिने जोखिम बढेको छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले भने कोभिडविरुद्धको खोपमा तीव्रता दिइएको र आवश्यक पूर्वतयारी रहेकाले तेस्रो लहरको जोखिम कम गर्न सकिने बताउँदै आएको छ । तर, चिकित्सकहरू खोपको बुस्टर डोज लगाइसकेका देशमा समेत कोरोना संक्रमणले रेकर्ड ब्रेक गरिरहेकाले खोप लगाएका आधारमा ढुक्क हुने अवस्था नरहेको बताएका छन् । ‘नेपालमा अझैसम्म लक्षित जनसंख्याको करिब ९३ लाखमा पूर्ण खोप पुगेको छैन । बालबालिकामा फाइजर र मोडेर्ना खोप दिइने लक्ष्य पनि प्रभावकारी छैन । ओमिक्रोन र डेल्टाको मिश्रण देखिएकाले संक्रमण पिकमा आउनुभन्दा पहिले सरकारले उचित कदम चाल्नुपर्ने देखिन्छ,’ डा. दुलालले भने ।
नेपालमा परीक्षणको दर बढाउँदा दैनिक संक्रमण दर पनि बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शनिबार २० हजार नौ सय ५९ जनामा परीक्षण गर्दा तीन सय ८२ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार नौ हजार ८४ जनामा गरिएको परीक्षणमा दुई सय ३५ मा संक्रमण पुष्टि भएको थियो । हाल देशभर चार हजार आठ सय ७९ जना सक्रिय संक्रमित छन् ।
भारतमा ओमिक्रोन संक्रमित १४ सय ३१ पुगे
दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च संक्रमण भारतमा देखिएको छ । ओमिक्रोनसँगै फैलिइरहेको डेल्टा संक्रमणका कारण भारतमा दैनिक संक्रमणदर तीव्र बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार संक्रमण ३५ प्रतिशतले बढेको छ । शुक्रबार २२ हजार सात सय ७५ जनामा संक्रमण देखिएको थियो । ओमिक्रोन संक्रमण हालसम्म २३ प्रान्तमा पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा ४५४, दिल्लीमा ३५१, तामिलनाडुमा ११८, गुजरातमा ११५ र केरलामा १०९ जनामा पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा मन्त्री र सांसदहरूसमेत संक्रमित भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका विभिन्न सहरमा रात्रिकालीन निषेधाज्ञा जारी भइसकेको छ ।
