चुक्ता पुँजी वृद्धि गरेको साइड इफेक्ट अझै : सिबिफिन
राष्ट्र बैंकले ०७२ मा बैंक तथा वित्तीय संस्थाको एकैचोटि चार गुणाले चुक्ता पुँजी वृद्धि गरेको साइड इफेक्टका रूपमा अहिलेसम्म आक्रामक रूपमा कर्जा विस्तार भइरहेको र यसले बैंक क्षेत्रको नाफा घटाउनुका साथै प्रणालीमा जोखिम बढाएको निष्कर्ष बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले निकालेको छ । सिबिफिन बैंक सञ्चालकहरूको संगठन हो ।
चुक्ता पुँजीमा गरिएको वृद्धिकै कारण कर्जा विस्तारको साइड इफेक्ट अझै निर्मूल भइनसकेको निष्कर्ष सिबिफिनको छ । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले देशको आर्थिक गतिविधि बढाउन सहयोग गरे पनि प्रवाहित कर्जा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, उत्पादन बढाउनभन्दा व्यापारिक र उपभोग्य कर्जामा केन्द्रित भएकाले आर्थिक वृद्धिदरमा तुलनात्मक रूपमा आशातीत योगदान नपुगेको सिबिफिनको निष्कर्ष छ । हाल कर्जा तथा कुल गार्हस्थ्य उत्पादन अनुपात झन्डै शतप्रतिशत पुगेको छ ।
विकसित मुलुकमा पनि कर्जा र कुल गार्हस्थ्य उत्पादन शतप्रतिशत माथि हुने गरेको भए पनि नेपालमा अनुत्पादनशील क्षेत्रमा कर्जा अस्वाभाविक रूपमा धेरै प्रवाह भएकाले यसको प्रवाह उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने सिबिफिनले उल्लेख गरेको छ । दक्षिण एसियाली मुलुकमा नेपालको यो अनुपात सबैभन्दा धेरै ८८ दशमलव १ प्रतिशतसम्म छ ।
नेपाल राष्ट्र बैंकले ०७८ जेठ महिनामा प्रकाशन गरेको तथ्यांअनुसार वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जामध्ये थोक तथा खुद्रा व्यापार, रियल इस्टेट, अन्य सेवा, उपभोग्य र उपयोग नखुलाइएको अन्य शीर्षकमा मात्रै करिब ५५ प्रतिशत कर्जा प्रवाह भएको छ । यो तथ्यांकले नै नेपालमा उत्पादनशील क्षेत्रमा कर्जा बढाउनुपर्ने आवश्यकतालाई जोड दिएको तर्क सिबिफिनको छ ।
आक्रामक कर्जा विस्तारले निष्क्रिय कर्जाको वृद्धिदर बढ्दै गएको छ । आव ०७७/७८ वाणिज्य बैंकको निष्क्रिय कर्जाको वृद्धिदर २९ दशमलव २९ प्रतिशतले बढेको छ । चालू आवमा चालू पुँजी कर्जामा भएको वृद्धिले समेत कर्जाको गुणस्तर खस्काउन सक्ने सम्भावना देखाएको सिबिफिनको आशंका छ ।
कोभिड–१९ लाई नियन्त्रण गर्न गरिएको लकडाउनबाट व्यवसायको नगद प्रवाहमा परेको असरलाई व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले थप चालू पुँजी कर्जा दिन सकिने व्यवस्थाले गर्दा २५ प्रतिशतभन्दा बढिले कर्जा वृद्धि भएको छ ।
आक्रामक कर्जा विस्तारका बाबजुद बैंकहरूको नाफा र प्रतिफलको वृद्धिदरमा भने ह्रास आइरहेको भन्दै सिबिफिनले चिन्ता जनाएको छ । रकमका दृष्टिकोणबाट मुनाफा बढेको देखिए पनि बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल दर घट्दै गइरहेको छ । विगत १० वर्षमा (०६९ साल छाडेर) लगातार वृद्धि हुँदै गइरहेको लगानी प्रतिफलदर ०७३ पछि घट्दै गइरहेको छ । ०७३ सम्म वार्षिक २३ प्रतिशतसम्म रहेको लगानी प्रतिफल घट्दै हाल १२ प्रतिशतमा सीमित भएको छ ।
बैंकहरू बलियो बनाउन वाणिज्य बैंकहरूबीच एक–आपसमा मर्जर र प्राप्तिमा जानुपर्ने सिबिफिनले उपाय सुझाएको छ । तर, विकास बैंक तथा फाइनान्स कम्पनी भने थप मर्जबाट जोगाउन लाग्नुपर्ने सिबिफिनले उल्लेख गरेको छ ।