नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मेलमिलापको सान्दर्भिकता झनै बढेको बताएका छन्। कांग्रेसको ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। शुभकामना सन्देशमा नेता कोइरालाले राष्ट्रनिर्माणमा वादविवादभन्दा मेलमिलाप वादको खाँचो रहेको उल्लेख गरेका छन्।
‘जननायक बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति ४६ वर्षमा प्रवेश गरेको छ। आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवादभन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणको लागि छ। मेलमिलापको सान्दर्भिकता आज पनि कैयन गुणा बढेको छ,’ कोइरालाले भनेका छन, ‘महाशक्ति राष्ट्रहरूको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती हाम्रो सामु छ।'