वितरणमा ढिलाइ गरेपछि सिराहाका किसानले गोदामबाट आफैँ झिकेर लगे दुई सय बोरा गहुँको बिउ

बुधबार, ७ पुष, २०७८
डिजिटल संस्करण

कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै सिराहाका किसानले मंगलबार बिहान १० बजे अनुदानमा बाँड्न राखिएको गहुँको बिउ आफैँ झिकेर लगेका छन् । औरही गाउँपालिका– ३ का किसानले प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको दुई सय बोरा गहुँको बिउ लगेका हुन् । 

औरही गाउँपालिकाले आफ्नो भौगोलिक सीमाभित्रका किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल– ९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो । टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा दुई हजार ६ सय ४० क्विन्टल बिउ ल्याइएको भए पनि वितरण हुन सकेको थिएन । गहुँ छर्ने समय भइसक्दा पनि बिउ नपाउँदा किसान चिन्तित थिए । 

त्यसमाथि गाउँपालिकाका कर्मचारीले आफूनिकट र पहुँचवालालाई बोलाएर बिउ दिने गरेको, तर सामान्य किसानले दिनहुँ घन्टौँ लाइन बस्दा पनि बिउ नपाएको गुनासो आइरहेको थियो । मंगलबार पनि किसानहरू बिहानदेखि नै बिउका लागि लाइन बसेका थिए । कर्मचारीले वितरणमा आलटाल गरेको भन्दै आक्रोशित उनीहरूले गोदामको ताला खोलेर बिउ लुटेर लगेका हुन् । 

‘२० किलो बिउका लागि दिनहुँ बिहानैदेखि लाइन बस्थ्यौँ, तैपनि पाइरहेका थिएनौँ,’ औरही गाउँपालिका– ३ का किसान शिवनन्दन यादवले नयाँ पत्रिकासँग भने, ‘बिउ छर्न निकै ढिला भइसक्दा पनि कर्मचारीले अनेक बहाना बनाएर वितरणमा अलमल गर्दै आएका थिए । त्यही भएर हामी आफैँले बिउ लिएर गयौँ ।’ उनले चिसोको समयमा चार–पाँच किलोमिटर टाढाबाट आएर लाइन बसेका किसानमाथि हदैसम्मको अन्याय गरिएकाले यो कदम उठाउन बाध्य भएको दाबी गरे । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख राजदेव यादवले किसानहरूले दुई सय बोरा बिउ लुटेर लगेको बताए । ‘एक बोरामा ४० किलो बिउ थियो । हामीले प्रत्येक किसानलाई २०–२० किलोका दरले पूर्ण अनुदानमा गहुँको बिउ दिने गरेका थियौँ । सोमबार पनि केहीबेर वितरण गरेपछि विवाद भयो । त्यसपछि हामीले वितरण रोक्यौँ, मंगलबार केही किसानले दुई सय बोरा लुटेरै लगे,’ यादवले भने । उनले प्रहरी चौकीछेउबाटै गोदामको ताला फुटाएर मल लुटिनु दुःखद भएको बताए । 

औरही गाउँपालिकाले १८ लाख ९५ हजार पाँच सय ६० रुपैयाँमा गहुँको बिउ खरिद गर्न गत ८ मंसिरमा टेन्डर आह्वान गरेको थियो । त्यसपछि ५९ रुपैयाँ प्रतिकिलोका दरले दुई हजार ६ सय ४० क्विन्टल बिउ खरिद गरिएको थियो । केही किसानले भने बिउ खरिदमा समेत अनियमितताको आशंका गरेका छन् । कमसल गुणस्तरको बिउ खरिद गरिएको उनीहरूको आरोप छ । औरही– ५ का भोला यादवले लोकल गहुँको बिउ खरिद गरिएको आरोप लगाए । उनले गाउँपालिकाभित्र कति किसान छन् भन्ने तथ्यांकसमेत गाउँपालिकासँग नभएको भन्दै हचुवाको भरमा बिउ खरिद गरी आफन्तलाई मात्र वितरण गरिएको दाबी गरे ।

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भने सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै आवश्यक परामर्शपछि कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए । ‘यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग परामर्श थालेको छु, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।

सुझावित समाचार