चितवनमा ६ हजार मेट्रिकटन माछा उत्पादन हुने

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

मत्स्य व्यवसायीहरूले चितवन माछामा आत्मनिर्भर बनेको स्वघोषणा गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार चितवनमा मागभन्दा बढी माछा उत्पादन हुँदै आएको छ । संघका अनुसार आर्थिक वर्ष ०७७/७८ मा चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो । जसमध्ये दुई हजार ६ सय मेट्रिकटन चितवनमा नै खपत भएको उनको भनाइ छ । बाँकी एक हजार चार सय ३८ मेट्रिकटन अन्य जिल्लामा बिक्री गरिएको थियो ।

उनका अनुसार यो वर्ष ६ हजार ६ सय ५३ मेट्रिकटन माछा उत्पादन हुने अनुमान छ । चितवनको माछा काठमाडौं, पोखरा, लमजुङ, गोरखालगायत जिल्लाहरूमा बिक्री हुने गरेको छ । जिल्लाका किसानको पछिल्लो १० वर्षको मिहिनेतले यस्तो उपलब्धि हासिल भएको उनको भनाइ छ । राज्यको सहयोग मिले चितवनमा माछा उत्पादनको थप क्षेत्र विस्तार गर्ने उनले बताए । तर, भारतबाट सहजै नेपालमा माछा आयात हुँदा स्थानीय उत्पादन बिक्री गर्न गाह्रो भएको उनको गुनासो छ । 

जिल्लामा एक हजार तीन सय माछापालन गर्ने किसान छन् । चितवनमा ०६७ सालदेखि माछाको व्यावसायिक पालन सुरु भएको हो । यद्यपि, ०३८ सालदेखि नै माडीको गोपालनगर र भरतपुरका केही क्षेत्रमा माछापालन सुरु भएको थियो । चितवनका अधिकांश किसानले जलकपुर र कार्प प्रजातिका रहु, ग्रास, सिल्भर, बिगहेड माछापालन गर्दै आएका छन् । जिल्लामा सात सय हेक्टरमा माछापालन हुँदै आएको छ । पोखरीको संख्या दुई हजार दुई सय ७७ छन् । जसमध्ये एक हजार ५२ पोखरी भाडामा छन् । सबैभन्दा धेरै पोखरी माडी नगरपालिकामा एक  हजार एक सय ४६ पोखरी छन् । तर, उत्पादन भरतपुर महानगरमा धेरै छ । 

See More On

सुझावित समाचार