हरेक वर्ष आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७औँ संस्करण १८ माघदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । गत वैशाखमा हुने सबै तयारी गरिएकोमा कोभिड–१९ को दोस्रो लहरका कारण इन्फोटेक स्थगित गरिएको थियो ।
क्यान इन्फोटेकको २७औँ संस्करणको मिति घोषणासँगै मुख्य प्रायोजक, सहप्रायोजन, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला गरिएको छ ।
प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरू सहभागी हुने प्रचलन छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि विशेष थलो पनि हुने विश्वास लिइएको छ ।
क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरू रहने गरी तयारी अगाडि बढाइएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्सलगायतका प्रोडक्टहरूको प्रदर्शनी हुनेछ । क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेको आयोजकले जनाएको छ । यो वर्ष सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ ।