सिभिल सहकारीको ठगी प्रकरण : पाँच अर्ब ५९ करोड बिगो दाबीसहितको मुद्दा सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो

सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइयो

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

सिभिल सहकारीको संगठित ठगी मुद्दा अबको सात दिनभित्र थुनछेक बहसका लागि अदालत पेस गर्ने तयारीमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं जुटेको छ । करिब दुई महिनाको गहन अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार सम्पूर्ण अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । 

प्रतिवेदनमा सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको छ । बाँकी ३३ जनालाई भने मतियारका रूपमा मुद्दा चलाइएको छ । जसमध्ये १२ जना पक्राउ परिसकेका छन् । बाँकी २४ जना फरार छन् । उनीहरूविरुद्ध जनही आठ–आठ वर्षकोे कैद सजाय र पाँच अर्ब ५९ कारोड बिगो दाबी गरिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार सिआइबीले पेस गरेको प्रतिवेदन कार्यालयले शुक्रबारबाटै अध्ययन सुरु गरेको छ । मुद्दाको फाइल ठूलो भएकाले अध्ययन सक्न अझै साता दिन लाग्ने अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । त्यसलगत्तै अभियोगपत्र तयार हुने र थुनछेक बहसका लागि मुद्दा जिल्ला अदालत काठमाडौंमा पेस हुनेछ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गंगाधर पौडेलले अबको साता दिनभित्र मुद्दा थुनछेक बहसका लागि अदालत पेस हुने जानकारी दिए । ‘सिआइबीले अध्ययन प्रतिवेदन पेस गरेको छ । हामीले फाइल अध्ययन सुरु गरिसकेका छौँ । मुद्दा ठूलो भएकाले यो क्रम साता दिनसम्म चल्नेछ । त्यसपछि अभियोग पत्र तयार हुनेछ । र, थुनछेक बहसका लागि अदालतमा पेस हुनेछ,’ उनले भने ।

 इच्छाराजकी श्रीमतीसहित  २४ जना अझै फरार 
प्रहरीका अनुसार २४ अभियुक्त अझै फरार छन् । फरार हुनेमा इच्छाराजकी श्रीमती सिर्जना, छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङ, इच्छाराजका व्यापारिक साझेदार तथा सहकारीको ऋणी लालकाजी गुरुङ, सञ्चालक समितिका सदस्यहरू जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, इन्द्रराज हुमागाईं, प्रवीण प्रधान, खेमनाथ डल्लाकोटी, केशवकुमार अमात्य, रामकृष्ण पौडेल, सुमननन्द वैद्य, गोपालबहादुर श्रेष्ठ, अष्टरत्न तुलाधर, मुकुन्दप्रसाद न्यौपाने र दानहिरा कंसाकारलगायत छन् । उनीहरूविरुद्ध खोजीकार्य तीव्र पारिएको सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए । 

‘सिभिल सहकारी ठगी प्रकरणमा ३६ अभियुक्तविरुद्ध मुद्दा चलाइएको छ, जसमध्ये १२ पक्राउ परिसकेका छन्, २४ अभियुक्त फरार छन् । फरारमध्ये केही इच्छाराजका परिवारका सदस्य छन् । केही सहकारीको सञ्चालक समितिमा रहेका छन् । उनीहरूलाई पक्राउ गरेलगत्तै अनुसन्धान थाल्नेछौँ,’ उनले भने ।

 एक हजार चार सय ८७ पीडितले दिए जाहेरी 
सिआइबीमा हालसम्म एक हजार चार सय ८७ पीडितले जाहेरी दिइसकेका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण पाँच अर्ब ५९ करोड ३३ लाख ११ हजार एक सय ३७ रुपैयाँ छ । संगठित तवरले निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १८ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराजसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरू हाल सिआइबीको हिरासतमा छन् । 

सिभिल सहकारीबाट पीडित हुनेमा नेपाली सेनाका पूर्वजर्नेल, संयुक्त राष्ट्रसंघका पूर्व तथा वर्तमान कर्मचारी, नेपाल सरकारका उच्च तहका पूर्व तथा वर्तमान प्रशासक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् । सहकारीमा एकै परिवारको पाँच करोड रुपैयाँसम्म डुबेको अनुसन्धानबाट खुलेको छ । एक करोड रुपैयाँभन्दा धेरै ठगिनेको संख्या मात्रै एक सयभन्दा धेरै पुगेको ब्युरोले जनाएको छ । ठगिनेमध्ये कतिपय विदेशमा समेत छन् । सम्बन्धित दूतावासमार्फत प्रमाणित गराई सिआइबीले त्यस्ता पीडितको अनलाइनबाटै जाहेरी दिने तयारीसमेत गरेको छ । 

सुझावित समाचार