कैलाली र कञ्चनपुरमा सरकारले किसानबाट धान खरिद नगर्दा व्यापारीलाई सस्तोमा बिक्री गर्न किसान बाध्य भएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढीस्थित क्षेत्रीय कार्यालयले धान खरिद नगरेको स्थानीय किसानले गुनासो गरेका छन् । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षा र बाढीले कैलालीमा धानबालीमा ठूलो क्षति गरेको थियो । धान बिग्रिएको भन्दै गल्ला व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेको भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले बताए । आफूले प्रतिक्विन्टल एक हजार पाँच सयका दरले ७० क्विन्टल धान व्यापारीलाई बेचेको उनको भनाइ छ ।
‘खाद्यले खरिद गरेको भए बढी मूल्य पाइन्थ्यो होला । हिउँदे बालीका लागि गहुँको बिउ–मल किन्न पनि धान बेच्नुपर्ने बाध्यता थियो,’ उनले गुनासो गरे, ‘यसपालि धान जोगाउन सकिएन, जेनतेन जोगाएको धानले पनि मूल्य पाएन ।’ उनले दुई बिघा आफ्नो र नौ बिघा ठेक्कामा गरी ११ बिघामा धानखेती गरेका थिए । गाउँमा कतिपय किसानले प्रतिक्विन्टल हजार रुपैयाँसम्ममा धान बेच्नुपरेको चौधरीले जानकारी दिए ।
भजनी–७ का अर्का किसान खोजराम चौधरीले सरकारले धान खरिद नगरेकाले किसानले सस्तोमा बेच्नुपरिरहेको बताए । कमसल धान भएको भन्दै व्यापारीले न्यून मूल्य दिने गरेको उनले गुनासो गरे । सरकारले यस वर्ष मोटो धान प्रतिक्विन्टल दुई हजार सात सय ५२ र मध्यम धानको दुई हजार नौ सय दुई रुपैयाँ तोकेको थियो । कैलालीमा धान लगाएको करिब ७२ हजार हेक्टरमध्ये आधामा वर्षाले क्षति गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले केन्द्रबाट कुनै निर्देशन नआएकाले धान खरिद गर्न नसकेको जनाएको छ । कार्यालय प्रमुख एन्जिला बस्नेतले केन्द्रले खरिद गर्ने धानको परिणाम र बजेट पठाएपछि खरिद प्रक्रिया सुरु गरिने बताइन् । यस वर्ष धान कमसल रहेकाले सबै धान कम्पनीले पनि किन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।