‘अन्तिम अतिथि’ कथाले पायो एक लाख पुरस्कार

आइतबार, ५ मंसिर, २०७८
डिजिटल संस्करण

बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिसहोम बाह्रखरी कथालेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गरेका छन् । उनको ‘अन्तिम अतिथि’ शीर्षकको कथा प्रथम भएको हो ।

यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छिन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छिन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ रहेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–०७८’ को पनि लोकार्पण गरिएको छ । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गरेका थिए । डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारलाई पनि प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

उत्कृष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गरेका थिए ।

यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डिके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।

See More On

सुझावित समाचार