लामो समयपछि सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो १ बजेका लागि फुलकोर्ट बैठक बोलाएकाे सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए। यसअघि दिउँसो २ बजेका लागि बोलाइएको बैठक १ घन्टा अगाडि सारिएको हो।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। आजको बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा निर्णय लिइने बताइएको छ।