२८ सय कट्यो नेप्से : परिसूचकसँगै कारोबार रकम पनि लगातार बढ्दै

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

विगत तीन दिनदेखि सेयर बजार परिसूचक नेप्से लगातार बढेको छ । सोमबारदेखि नेप्सेसँगै कारोबार रकम पनि बढिरहेको छ । सबै हिसाबले बजारको सूचक सकारात्मक रहँदा आगामी बजार सकारात्मक भई अघि बढ्ने अपेक्षा लगानीकर्ताहरूमा देखिएको छ । बुधबार नेप्से १६ दशमलव ९५ अंकले बढेर दुई हजार आठ सय १ दशमलव ५२ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार झिनो अंकको करेक्सनबाट उकालो लागेको नेप्से नयाँ बिन्दुमा प्रवेश गर्ने तयारी रहेको लगानीकर्ता बताउँछन् । हुनुपर्नेजति करेक्सन भएकाले आगामी दिनमा पुनः करेक्सन हुने ठाउँ नरहेको लगानीकर्ताहरूको दाबी छ । बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनी तथा संस्थाको कुल एक करोड १९ लाख कित्ता/इकाइ सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इस्योरेन्स कम्पनीको ३३ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेसनल हाइड्रोपावर कम्पनी, गरिमा विकास बैंक, अपी पावर कम्पनी, लुम्बिनी विकास बैंक, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, आइसिएफसी फाइनान्स कम्पनीको २६ करोड रुपैयाँदेखि १८ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

नेपाल टेलिकम समावेश गरिएको अन्य समूहको सूचक ५ दशमलव २९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको सूचक पनि २ दशमलव २४ प्रतिशतले बढेको छ । पञ्चकन्यामाई हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक गरी पाँच कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको ९ दशमलव ५१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी ८ दशमलव ८४ प्रतिशत ,जोशी हाइड्रो डेभलपमेन्ट कम्पनीको ७ दशमलव ०५ प्रतिशत, गोर्खाज फाइनान्स कम्पनीको ६ दशमलव ६५ प्रतिशत, रिलायन्स फाइनान्स कम्पनीको ६ दशमलव १७ प्रतिशतले बढेको छ ।

बोटलर नेपाल तराई लिमिटेडको सेयर मूल्य ७ दशमलव ४७ प्रतिशत र महालक्ष्मी विकास बैंकको ७ दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी, गुँरास लाइफ इस्योरेन्सको ४ दशमलव १३ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ३ दशमलव ८८ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको ३ दशमलव ०९ प्रतिशतले गिरावट आएको छ ।

बजारका गतिविधि
-नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी मंसिर २९ गतेका लागि साधारणसभा बोलाएको छ । बोनस सेयर र नगद लाभांशका लागि मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
-एसियन लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 
-आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति बैठकले विनोद ज्ञवालीलाई संस्थाको सञ्चालक पदमा नियुक्त गरेको छ ।
-गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदबाट ओमप्रसाद प्रसाईंले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाई दिएको राजीनामालाई संस्थाले स्वीकृत गरेको छ ।

See More On

सुझावित समाचार