सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ। सोमबार उनको घर मंगलबजार पुगेर गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र प्रदान गरेका हुन्।
 
परिचयपत्र लिँदै  जोशीले सरकारले आफूलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे। उनले राष्ट्रिय परिचयपत्रलाई सबै सेवा–सुविधामा प्रयोग गर्न मिल्ने व्यवस्था गर्नसमेत सचिव पाण्डेसमक्ष अनुरोध गरे। जोशीले ज्येष्ठ तथा परिचयपत्र लिन योग्य व्यक्तिलाई छिटोभन्दा छिटो परिचयपत्र वितरण गर्न सुझाव पनि दिए। परिचयपत्र प्रदान गर्ने क्रममा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजिरमान जोशीलगायतको उपस्थिति रहेको थियो।

के हो राष्ट्रिय परिचयपत्र ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। नागरिकको व्यक्तिगत र जैविक विवरण यसमा समावेश हुन्छ। जन्म, मृत्यु, बसाइँसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन गर्न यो परिचयपत्र बनाइन्छ। यही परिचयपत्रकै आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना सरकारले अघि सारेको छ।

राष्ट्रिय परिचयपत्रमा के–के विवरण हुन्छ ?
नाम, थर, जन्ममिति, लिंग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति–पत्नीकाे नाम, बाजेको नाम, औँठा छापलगायतका विवरण परिचयपत्रमा समावेश हुन्छन्। यसमा परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरसमेत समेटिन्छ। यो बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड हो। सरकारले सबैलाई स्मार्ट राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको छ। यो परिचयपत्र पाउन १६ वर्ष उमेर पूरा भएको र नागरिकता लिएको हुनुपर्छ। यो परिचयपत्रलाई व्यक्तिको राष्ट्रिय पहिचानपत्र,  मतदाता परिचयपत्र, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न सक्ने पत्र, सामाजिक सुरक्षाकार्ड, सुरक्षा व्यवस्थापनका लागि सहयोगी पत्र र अन्य सार्वजनिक सेवा लिनका लागि प्रयोग गर्न सकिन्छ।

सुझावित समाचार