आइतबार राष्ट्र बैंकले सबै बैंकहरूलाई ब्याजदरमा लगाएको सीमा निर्धारणको असर सेयर बजारमा देखिएको छ । केन्द्रीय बैंकले अधिकतम ब्याजदर समान हुने गरी आइतबार परिपत्र जारी गरेको थियो । बैंकहरूले अघिल्लो महिना जारी गरेको औसत अधिकतम ब्याजदरमा अब १० प्रतिशतले मात्र वृद्धि गर्न पाउने गरी सीमा निर्धारण गरेको छ । आगामी दिनहरूमा बैंकहरूले आवश्यकताअनुसार ब्याजदर बढाउन पाउनेछैनन् । सोहीअनुसार नेप्सेका लगानीकर्ता राष्ट्र बैंकको यस निर्णयले सकारात्मक हुन पुगेका छन् ।
सोमबार नेप्से सूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ३५ बिन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव १० अंकले बढेर पाँच सय ६ दशमलव ५४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक सकारात्मक रहँदा विकास बैंकतर्फ भने लगानीकर्ताको आकर्षण बढेको छ । विकास बैंक समूहको सूचक २ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यस्तै, होटेल तथा पर्यटन, फाइनान्स, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा समूहको सूचकका लगानीकर्ताले उल्लेख्य नाफा आर्जन गरेका छन् ।
तीन कम्पनीको सेयरमा सर्किट
तीन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । बोटलर नेपाल तराई लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनीको ९ दशमलव ६१ प्रतिशत, शिवश्री हाइड्रोपावरको ८ दशमलव ७० प्रतिशत, घलेम्दी हाइड्रोपावर ८ दशमलव ५६ प्रतिशत, छ्याङ्दी हाइड्रो ८ दशमलव ५१ प्रतिशतले बढेको छ ।
बढेको नेप्सेमा दुई कम्पनीको सेयर मूल्यमा उलेख्य गिरावट आएको छ । महालक्ष्मी विकास बैंकको ४ दशमलव ४६ प्रतिशत र माउन्टेन इनर्जी नेपालको २ दशमलव ८४ प्रतिशतले घटेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता–इकाइ सेयर किनबेच हुँदा चार अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी ३५ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको २८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी विकास बैंक, नबिल बैंक, ज्योति विकास बैंक, अपि पावर कम्पनी, आइसिएफसी फाइनान्स कम्पनीको २३ करोड रुपैयाँदेखि १३ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
बजारका गतिविधि
-आशा लघुवित्त वित्तीय संस्थाले सञ्चालक तथा अध्यक्ष नियुक्त गरेको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकलाई नियुक्त गरेको हो । समितिको अध्यक्षमा निर्गुणप्रसाद भट्टचन र सञ्चालकमा प्रदीपकुमार खड्का, सुसन शेरचन र कविता पोखरेल नियुक्त
भएका छन् ।
-सिभिल लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को कारोबारको लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा आरके एसोसिएट्सलाई नियुक्त गरेको छ ।