सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वकोषाध्यक्ष परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिएर घरमा बस्न सुझाव दिएका छन्। कानुन व्यवसायीहरूको धर्नापछि आयोजित विरोध सभामा बोल्दै कोइरालाले राजीनामाको विकल्प नभएको बताएका हुन्।
‘केवल राजीनामा, राजीनामा, राजीनामा। त्योभन्दा माथिको महाभियोग पनि होइन। तपाईंहरू इजलास हेर्नुस् म मुद्दा हेर्दिनँ पनि होइन। बीचको समाधान राजीनामा। राजीनामा दिएर आनन्दले घरमा बस्नुस् । हामीले सर्वोच्चको गरिमा हेरेर आन्दोलन गरेका हौँ,’ कोइरालाले भने।
विरोध सभामा वरिष्ठ अधिवक्ता उमेश गौतमले गम्भीर न्यायिक विचलन आएको उल्लेख गर्दै आफूहरूको बटमलाइन राजीनामा रहेको प्रस्ट पारे। यसैगरी अधिवक्ता रुद्रप्रसाद नेपालले जबराले बिचौलियाको नेतृत्व गरेको आरोप लगाउँदै उनीसँग कुनै वार्ता नहुने बताए।
यसैगरी अधिवक्ता सुनिल पोखरेलले बारको भद्र आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए। उनले भने, ‘प्रधानन्यायाधीशले भ्रम पाल्न भएन, यहाँ उपस्थित नभएका बार आन्दोलनको पक्षमा छैनन् भन्ने होइन। हाम्रो भद्र अवज्ञा र शालीन आन्दोलनलाई कमजोर नठानियोस् ।’