प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि ३ मंसिरमा हुन लागेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नेछन् । महिलातर्फ आठवटा तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्ण पदकका लागि भिडन्त हुनेछ।

प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् । क्लब र जिल्ला गरी ३२ टिमबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम भने दर्ता गर्न बाँकी छ । 

दर्ता भएका खेलाडीहरूको तौल र मेडिकल जाँच २९ कात्तिक बिहान ६ देखि ८ बजेसम्म हुनेछ । प्रतियोगिता दिउँसो १ बजेबाट सुरु हुनेछ । प्रतियोगितालाई सफल पार्न विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् । 
 

See More On

सुझावित समाचार