टी–२० विश्वकपका सात रोमाञ्चक दृश्य

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

सातौँ संस्करणको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको फाइनल खेल आइतबार हुँदै छ । फाइनलमा पुगेका न्युजिल्यान्ड र अस्ट्रेलिया जुन टिमले खेल जिते पनि पहिलोपटक विश्वकप विजेता बन्नेछन् । अस्ट्रेलिया दोस्रो तथा न्युजिल्यान्ड पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । तसर्थ, जसले उपाधि जिते पनि विश्वले टी–२० विश्वकपमा नयाँ च्याम्पियन पाउनेछ । भारतमा हुने भनिएको विश्वकप कोरोना संक्रमणका कारण ओमान र युएईमा सारिएको हो । १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म चलेको विश्वकपमा पहिलो चरण र सुपरमा १२ खेल भए । करिब एक महिनासम्म चलेको विश्वकपमा आशा गरेका खेलाडी असफल भए । अस्वाभाविक रूपमा केही खेलाडी चम्केका पनि छन् । समग्रमा फाइनलअघिसम्म विश्वकपमा देखिएका केही रोमाञ्चक पक्ष यस्ता छन् । 

१. ओपनिङमा चम्केका बाबर

टी–२० विश्वकप फाइनल खेल्ने पाकिस्तानको सपना तेस्रोपटक अधुरै रह्यो । उत्कृष्ट फर्ममा रहँदारहँदै पनि पाकिस्तान अस्ट्रेलियासँग सेमिफाइनलमा पाँच विकेटले पराजित भयो । पाकिस्तानी टिमका ओपनर तथा कप्तान बाबर अजाम पूरै ६ खेलमा चम्के । उनले एकै विश्वकपमा चार अर्धशतक बनाउने कीर्तिमानसमेत राखेका छन् । विश्वकपमा ६ खेलबाट उनले सर्वाधिक तीन सय तीन रन जोडे । उनी धेरै व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा छन् ।

सन् १९९२ पछि एकदिवसीय र टी–२० विश्वकपमा भारतमाथि पहिलोपटक जित निकाल्ने क्रममा बाबरले अर्धशतकीय इनिङ्स खेलेका थिए । चालू विश्वकपमा बाबरले ६ इनिङ्समा २८ चौका र पाँच छक्का प्रहार गरे । डेब्यु विश्वकपमै धेरै रन बनाउने रेकर्ड पनि बाबरले राखेका छन् । यसअघि अस्ट्रेलियाका म्याथ्यु हेडनले दुई सय ६५ रन तथा इंग्ल्यान्डका जोए रुटले दुई सय ४९ रनको कीर्तिमान राखेका थिए ।

२. जमेका पाकिस्तानी ओपनर

पाकिस्तान सेमिफाइनलसम्म पुग्नुको एक प्रमुख कारण ओपनिङ जोडीको सानदार प्रदर्शन पनि हो । ओपनर जोडी बाबर र मोहम्मद रिजवानले ६ इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्दैै वाहवाही कमाए । बाबर र रिजवानले भारतविरुद्ध सर्वाधिक एक सय ५२ रनको साझेदारी गरे । यही साझेदारीकै कारण भारत २८ वर्षपछि पाकिस्तानसँग विश्वकपमा पराजित भयो ।

अस्ट्रेलियाविरुद्ध पनि यो ओपनिङ जोडीले पावर प्लेमा आफ्नो विकेट दिएनन् । सन् २०१० को विश्वकपमा श्रीलंकाका महेला जयवद्र्धने र कुमार संगाकारले वेस्ट इन्डिजविरुद्ध पहिलो विकेटका लागि एक सय ६६ रनको साझेदारी गर्दैै विश्वकीर्तिमान बनाएका थिए । इंग्ल्यान्डका हालेर र इयोन मोर्गानले श्रीलंकाविरुद्ध तेस्रो विकेटका लागि एक सय ५२ रनकै साझेदारी गरेका थिए ।

३. डी सिल्भा पछ्याउँदै जाम्पा

व्यक्तिगत रनको चर्चा गरिरहँदा सर्वाधिक विकेट लिनेको पनि त्यतिकै अर्थ रहन्छ । संयोग कस्तो रह्यो भने सर्वाधिक रन तथा विकेट लिने खेलाडीहरू विश्वकपबाट बाहिरिसकेका छन् । धेरै रन बनाउने पाकिस्तानका बाबर सेमिफाइनलबाटै घर फर्किए । धेरै विकेट लिने बलर श्रीलंकाली डी सिल्भा पनि सुपर १२ को समूह १ बाट बाहिरिसकेका छन् । डी सिल्भाले समूह चरण र सुपर १२ मा गरी आठ खेल खेले । आठ खेलमा उनले १६ विकेट लिएका थिए । 

धेरै विकेट लिने बलरको सूचीकै शीर्ष स्थानमा रहेका डी सिल्भाले ५.२ इकोनोमी रेटमा बलिङ गरेका थिए । सिल्भाको रेकर्डलाई अस्ट्रेलियाका एडम जाम्पाले पछ्याइरहेका छन् । उनले सुपर १२ र सेमिफाइनलमा गरी ६ खेलबाट १२ विकेट लिएका छन् । श्रीलंकाली डी सिल्भाको रेकर्ड बराबरी गर्न जाम्पालाई चार तथा रेकर्ड तोड्न पाँच विकेट खाँचो छ । 

४. बटलरको एक मात्र शतकीय इनिङ्स

जारी विश्वकपमा एक मात्र शतकीय इनिङ्स देखिएको छ । इंग्लिस ब्याट्सम्यान जोस बटलरले सुपर १२ अन्तर्गत समूह १ मा श्रीलंकाविरुद्धको महत्वपूर्ण खेलमा शतकीय इनिङ्स खेले । उनकै शतकको मद्दतमा इंग्ल्यान्डले श्रीलंकालाई २६ रनले हरायो । बटलरले टी–२० विश्वकपकै डेब्यु शतक खेल्न ६७ बलको सामना गरे। 

बटलरले एक सय चार मिनेटमा समान ६ चौका र छक्का प्रहार गरी एक सय एक रनको नटआउट इनिङ्स खेले । विश्वकपकै २६औँ खेलमा उनले कप्तान मोर्गानसँग चौथो विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । चालू विश्वकपमा उनले ६ इनिङ्समा दुई सय ६९ रन जोडे । 

५. एक मात्र ह्याट्रिक रबाडाको नाममा

सुपर १२ मा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग १४ रनले पराजित भयो । यो खेलको मुख्य पाटो दक्षिण अफ्रिकाका कार्गिसो रबाडाको ह्याट्रिक हो । हारको नजिक पुगेको दक्षिण अफ्रिकालाई जित दिलाउने श्रेय रबाडालाई जान्छ । इंग्ल्यान्डले एक सय ९० रनको लक्ष्य पछ्याउँदा रबाडाले इनिङ्सकै अन्तिम ओभर बलिङ गरेका थिए । जसमा उनले क्रिस वर्कस, इयोन मोर्गान तथा क्रिस जोर्डनलाई आउट पारे । सो खेलमा उनले ४८/३ को प्रदर्शन गरेका थिए ।

२६ वर्षीय रबाडा दक्षिण अफ्रिकाबाट टी–२० विश्वकपमा ह्याट्रिक लिने पहिलो बलर हुन् । समग्रमा उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने २६औँ बलर हुन् । टी–२० विश्वकपमा ह्याट्रिक लगाउने रबाडा चौथो बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध, काउटिस क्याफेरले नेदरल्यान्डविरुद्ध, वानिन्दु हसारांगाले दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक लगाएका छन् । सन् २००७ को पहिलो संस्करणकै विश्वकपमा लीले ह्याट्रिक ओभर गरेका थिए । 

६. सनसनीपूर्ण सेमिफाइनल

यसपटकको विश्वकपमा सेमिफाइनलका खेलहरू सनसनीपूर्ण रहे । न्युजिल्यान्ड र अस्ट्रेलियाले आ–आफ्ना विपक्षीमाथि असम्भवजस्तै देखिएका खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गरे ।

न्युजिल्यान्ड र अस्ट्रेलियाले विपक्षीमाथि समान पाँच विकेटको जित दिर्ता गरे । यी दुवै टोलीले लक्ष्य पछ्याएको १९औँ इनिङ्समै जित निकाल्न सफल भए । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डको सामना गरेको थियो । 

पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रन बनायो ।  न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६७ रन जोड्यो । न्युजिल्यान्डको जितमा म्यान अफ दी म्याच ओपनर डार्यल मिचेलले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ७३ रनको नटआउट इनिङ्स खेलेका थिए । 

इनिङ्सको १९औँ ओभरमा २० रन जोड्दै न्युजिल्यान्डले ६ बलअघि नै फाइनल स्थान सुरक्षित गर्यो । दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाको भेट पाकिस्तानसँग भयो । पहिलो ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । अस्ट्रेलियाले १९ ओभरमै पाँच विकेटको क्षतिमा एक सय ७७ रन जोड्यो । अस्ट्रेलियाको जितमा मार्कुस स्टोनिस र म्याथ्यु वाडेबीचको छैटौँ विकेटको नटआउट ८१ रनको विस्फोटक साझेदारी नै निर्णायक साबित भयो । वाडेले पाकिस्तानका साहिद साह अफ्रिदीको अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै अस्ट्रेलियालाई दोस्रोपटक फाइनल पुर्याए ।

७. पूर्वविजेता र साबिक विजेताको कमजोर प्रदर्शन

विश्वकपमा केही अप्रत्याशित नतिजा पनि देखिए । पूर्वविजेता तथा साबिक विजेताले आशातीत प्रदर्शन गर्न सकेनन् । साबिक विजेता वेस्ट इन्डिजले केवल एक खेलमा मात्र जित निकाल्यो । टी–२० फम्र्याटको दिग्गज तथा विस्फोटक ब्याट्सम्यानको बाहुल्यता रहेको वेस्ट इन्डिज सुपर १२ भन्दा माथि पुग्न सकेन । टी–२० विश्वकपमा दुईपटक शतकीय इनिङ्स खेलेका क्रिस गेल पूर्ण रूपमा असफल भए । 

भारत पनि सुपर १२ बाटै बाहिरियो । पाकिस्तान र न्युजिल्यान्डसँग पराजित हुँदा भारत बाहिरिनुको प्रमुख कारण बन्यो । नामिबियाविरुद्धको खेलसँगै विराट कोहलीले टी–२० खेलको कप्तानी परित्याग गरे । यता, श्रीलंकाको प्रदर्शन पनि त्यति सन्तोषजनक रहेन । अफगानिस्तानले भने समूह चरण तथा सुपर १२ मा सनसनीपूर्ण प्रदर्शन गर्यो । नामिबिया तथा स्कटल्यान्डले सुपर १२ को स्थान पक्का गर्दा आयरल्यान्ड प्रतियोगिताबाटै बाहिरियो ।   

एजेन्सीहरूको सहयोगमा

सुझावित समाचार