तीन दिनमै एक सय ५८ अंकले घट्यो नेप्से

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

गत साता कारोबारका लागि तीन दिन मात्रै खुलेको बजारमा नेप्से परिसूचक भने एक सय ५८ अंकले घटेको छ । लगातार कारोबार दिनमा नेप्से ओरालो लागेर दुई हजार ६ सय ९० मा आइपुगेर बजार बन्द भएको छ । 

सातामा १६ अर्ब रुपैयाँको कारोबार भएको छ । औसत दैनिक कारोबार रकमका आधारमा यो घटेको छ । अघिल्लो साता चार कारोबार दिनमा दैनिक औसत सात अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएकोमा गत साता यस्तो औसत पाँच अर्ब ३५ करोड रुपैयाँ छ । यो २४ प्रतिशतले कम हो । 

बजारलाई बैंकिङ प्रणालीमा देखापरिरहेको तरलता अभावले प्रभाव पारेको छ । स्रोत अभाव भएसँगै बैंकहरूले सेयर धितो कर्जामा समेत कडाइ गरिरहेका छन् । सेयर बजारको विषय नउठे पनि शुक्रबार मात्रै अर्थमन्त्री र बैंकरबीचको छलफलमा समेत अर्थ मन्त्रालयले बैंकहरूलाई कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न निर्देशन दिएको छ । 

अर्कोतर्फ हालसम्म बजारमा सूचीकृत ९१ कम्पनीको लाभांश घोषणा भइसकेको छ । यसमा ४३ वटाको बुक क्लोज हुन र मिति तोक्न बाँकी नै छ । औसतमा करिब ३० प्रतिशत हाराहारी लाभांश प्रस्ताव भएको देखिन्छ । लघुवित्त, युनिलिभर र म्युचुअल फन्डहरू अलग्याउँदा पनि लाभांश दर औसतमा १६ प्रतिशत देखिएको छ । यसले पनि बजारमा लाभांशको बुक क्लोज हुन बाँकी कम्पनीहरू होल्ड गर्नु बुद्धिमानी नै हुने देखिन्छ । 

प्राविधिक विश्लेषण
बजारको प्रवृत्ति भने द्विविधाको अवस्थामै छ । अल्पकालीन प्राविधिक विश्लेषणको औजार मैनबत्ती चित्रका आधारमा बजारमा बियरिस प्रवृत्ति कायमै रहेको संकेत गर्छ । मुख्यतः अन्तिम दुई दिनमा कालो मैनबत्ती आकृति बनेको छ । अन्तिम दिनको आकृति केही सानो छ । यसले बजार घट्ने प्रवृत्तिमा केही रोकिने संकेत देखिए पनि प्रवृत्ति परिवर्तनबारे स्पष्ट भइनसकेको संकेत गर्छ । 

नेप्सेको आरएसआई सूचक स्केल ६५ दशमलव ९८ मा आएको छ । यसले बजारमा माग र आपूर्ति सन्तुलनमा रहेको देखाउँछ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ । 

नेप्सेको सातदिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयासमा देखिन्छ । यसले बजार बुलिस प्रवृत्तिमा प्रवेश गर्न लागेको जस्तो देखिन्छ । यद्यपि, केही समय पर्खनु सही हुन्छ । यसमा चाँडो–चाँडो प्रवृत्ति परिवर्तन भइरहेकाले पनि यसलाई ध्यान दिनुपर्नेछ । 

पिभट विश्लेषणले भने आगामी साता दुई हजार ६ सय ३१ मा पहिलो टेवा प्रप्त गर्न सक्ने र यसले बजार बढ्न थालेमा भने दुई हजार आठ सय ६ मा पहिलो प्रतिरोध देखिएको छ ।   

सुझावित समाचार