नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी ओलीको प्रा.लि. भएको टिप्पणी गरेका छन्। गृहजिल्ला तनहुँमा नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन्।
‘एमाले भनेको केपी ओलीको प्रा. लि. (प्राइभेट लिमिटेड) हो। एउटा प्रा.लि.ले नेपाली कांग्रेसजस्तो पार्टीसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ?’, नेता पौडेलले भने, ‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नुभो। जसले असहमति तथा आफ्नो भन्दा फरक मतलाई सुन्न सक्दैन त्यो मान्छे कसरी नेता हुन्छ? त्यस्तो पार्टीले कसरी लोकतन्त्रको संरक्षण गर्न सक्छ?’
ओलीले दुईतिहाइको सरकारको नेतृत्व गर्दा पनि देशले कुनै उपलब्धि हासिल गर्न नसकेको नेता पौडेलले दाबी गरे। उनले भने, ‘केपी ओलीले दुईतिहाइको सरकारको नेतृत्व गर्दा पनि देशले एउटा पनि नयाँ उपलब्धि गर्न सकेन। दुईतिहाइ दिँदा त केही गर्न नसक्ने पार्टीले निर्वाचनमा गएर के भनेर भोट माग्ने? दुईतिहाइभन्दा बढी, के सय प्रतिशत चाहियो भन्ने?’