ग्लास्गोमा भइरहेको कोप–२६ सम्मेलनले विश्वका नेताहरूलाई जलवायु परिवर्तनमा प्रभावकारी कदम चाल्ने वाचासहित एक ठाउँमा ल्याइदिएको छ । यी नेताका बडेमानका चित्र एवं भनाइ टिभीका पर्दामा यत्रतत्र छाएका छन् । तर, अधिकांश प्रमाण केलाउने हो भने सामान्यतया वर्षैभरि जलवायु परिवर्तनका मुद्दालाई उपेक्षा गर्ने नेताहरू अहिले यसको अगुवाइ गर्न अक्षम रहेका नै देखिन्छन् । कोप–२६ मा सम्मेलनकै वेबसाइटले गर्वसाथ प्रस्तुत गरेका ‘प्रमुख साझेदार’हरूलाई नियाल्ने हो भने सम्मेलनको थप यथार्थ बुझ्न सजिलो हुनेछ । ग्रेटा थनबर्गले कोप–२६ लाई ‘हरित छवि बनाउने उत्सव’ वा ‘बकवास कथनीहरूको समारोह’ भनेर आलोचना गर्दा मूलधारका थुप्रै टिप्पणीकर्ता चकित भएका थिए, तर उनको आलोचनालाई सम्मेलनका कर्पोरेट प्रायोजकहरूले सही पुष्टि गरिदिएका छन् ।
पहिलो प्रायोजक हो, संसारकै सबैभन्दा ठूला प्रदूषकमध्येको एक– युनिलिभर । युनिलिभरले एक दिनमा ११ फुटबल मैदान भर्ने गरी प्लास्टिक उत्पादन गर्छ । प्लास्टिक प्रदूषणमा काम गरिरहेका केही संस्थाका अनुसार प्लास्टिक फोहोर कम गर्ने पहलमा सरिक हुने कम्पनीले नै सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्छन् । गत वर्ष दिगो उपायबाट पाम तेल उत्पादनमा अग्रसर भएकाले वाहवाही कमाएको थियो । तर, युनिलिभरमा देखिएको यो परिवर्तन वर्षा वन (रेन फरेस्ट) को विनाशमा लागेकासँगको सम्बन्धका कारण आलोचित भएपछि मात्रै सम्भव भएको हो । त्यसैगरी, फर्निचर कम्पनी आइकेइए पनि सम्मेलनको अर्को ठूलो प्रायोजक हो, आइकेइएले कार्गो जहाजबाट सामान ओसारपसार गर्दा एमेजोन कम्पनीभन्दा बढी प्रदूषण गर्छ ।
युनिलिभरमै फर्किउँ, युनिलिभरलाई स्कटल्यान्डका दुई ठूला ग्यास उत्पादक एसएसई र स्कटिस पावरले समर्थन गर्छन् । गत वर्षको अक्टोबरमा एसएसई स्कटल्यान्डको दोस्रो ठूलो प्रदूषक बन्न पुगेको थियो । सन् २०१९ मा स्कटिस इन्भाइरनमेन्ट प्रोटेक्सन एजेन्सीले गरेको एक अनुसन्धानअनुसार एसएसईले पिटरहेड पावर स्टेसनबाट बर्सेनि १६ लाख टन कार्बनडाइअक्साइड उत्पादन गर्छ । जलवायु सम्मेलनको अर्को साझेदार बिजुली उत्पादन कम्पनी नेसनल ग्रिडलाई हेरौँ, यो सन् २०१५ को पेरिस जलवायु सम्झौताको मापदण्ड पूरा नगरेका कारण अभियन्ताबाट आलोचित भएको थियो ।
निजी कम्पनीहरूले अहिलेको जलवायु संकटका वेला कोप–२६ लाई प्रायोजन गर्नु भनेको हरित छविको निर्माण गरेर जिम्मेवारीबाट विमुख हुनु हो
अब लागौँ अर्को प्रायोजक विशाल प्रविधि कम्पनी माइक्रोसफ्टतर्फ । माइक्रोसफ्टले ‘कार्बन न्यूनीकरण’ (कार्बन न्युट्रल) लक्ष्यलाई व्यक्तिगत बनाइदिएको छ । सामूहिक प्रक्रियालाई अवलम्बन नगर्दा यी कम्पनी अन्य कम्पनीबाट परस्पर नाफा आर्जन गर्छन् र यसले अर्थपूर्ण आलोचना एवं परिवर्तनलाई सहजै उपेक्षा गर्न सघाउँछ । सम्मेलनमा प्रायोजक बनेको र शून्य कार्बनतर्फ अग्रसर रहेको दाबी गर्ने स्काई मिडिया कम्पनीले कतार एयरवेजसँग पनि साझेदारी गरेको छ । यो साझेदारीले मिडिया कम्पनीको शून्य कार्बनको लक्ष्यलाई उदांगो पारिदिएको छ । त्यसैगरी, प्रायोजक बोस्टन कन्सल्टिङ ग्रुप (बिसिजी)ले ‘कार्बन न्युट्रल’ भएको दाबीका बाबजुद पनि थुप्रै कार्बन उत्पादक उद्योगसँग साझेदारी गरेको छ । प्रायोजक रहेको फर्मा कम्पनी ग्लाक्सोस्मिथक्लाइन (जिएसके) सन् २०१९ मा स्कटल्यान्डकै प्रदूषकमध्येको एक कम्पनीका रूपमा कुख्यात छ । वास्तवमा जिएसकेले उत्पादन गर्ने इनहेलरबाट आउने हरितगृह ग्यास कार्बनडाइअक्साइडभन्दा १५ सय गुणा शक्तिशाली रहेको छ । उसो त इनहेलरको हरित विकल्प पनि छन्, तर सबैलाई अनुकूल हुने खालका छैनन् । यद्यपि, थप खोज अनुसन्धान गर्न नसकिने होइन, तर प्रदूषक इनहेलर अमेरिकी बजारमै तीन सय डलरको हाराहारीमा बिक्री हुने गरेको छ भने विकल्प खोज्न अनुसन्धान कसले गरोस् ।
कोप–२६ लाई खुद्रा बजारको समर्थन सेन्सबरीबाट आएको छ । सेन्सबरी बेलायतको सबैभन्दा ठूलो सुपरमार्केट हो । सन् २०१९ मा ग्रिनपिसले सेन्सबरीलाई प्लास्टिक प्रदूषण रोक्न ‘सबैभन्दा अक्षम’ घोषणा गरेको थियो । त्यसैगरी, अर्को प्रायोजक रहेको उपभोक्ता मालसामान कम्पनी रेकिट पाम तेलका लागि विल्मर इन्टरनेसनलमा भर परेको छ । स्मरण रहोस्, विल्मर कम्पनी वनविनाशका मुद्दामा मात्रै नभई बालश्रमलगायत मानवअधिकारका मुद्दामा पनि कुख्यात छ । यातायात क्षेत्रको ठूलो कम्पनी जगुअर ल्यान्ड रोभरलाई नियालौँ । अत्यधिक कार्बन उत्सर्जनका कारण यो कम्पनीले सन् २०१९ मा ४० हजारभन्दा बढी गाडीलाई बजारबाट फिर्ता ल्याउनुपरेको थियो । सन् २०१७ मा जारी भहेको एक श्वेतपत्रअनुसार ल्यान्ड रोभरले अत्यधिक नाइट्रोजन अक्साइड उत्सर्जन गर्ने भएकाले विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने कार कम्पनी बनेको थियो ।
कोप–२६ लाई प्रायोजन गर्ने सबै कम्पनीको माथि उल्लेख गरिए झैँ खराब छवि छैन र ती कम्पनीले आउँदा दुई दशकभित्र कार्बन न्युट्रल हुने प्रतिबद्धता पनि जनाएका छन् । तर, उल्लिखित ठूला कर्पोरेट कम्पनीहरूले वातावरण विनाशमा भागीदार भएका कारण उनीहरूका प्रतिबद्धतालाई विश्वास गर्ने कुनै आधार देखिँदैन । निजी कम्पनी जनताको माग पूरा गर्न वा जलवायु परिवर्तनका मुद्दामा काम गर्न अस्तित्वमा आएका होइनन् । मुख्य उद्देश्य नाफा हो र नाफाका अगाडि वातावरणीय चासोले महत्व राख्दैन । थुप्रै निजी कम्पनीले अहिलेको जलवायु संकटका वेला कोप–२६ लाई प्रायोजन गर्नु भनेको हरित छविको निर्माण गरेर जिम्मेवारीबाट विमुख हुनु हो । जलवायु परिवर्तनका मुद्दामा गरिने पहलकदमीका लागि सबैभन्दा पहिले कर्पोरेट प्रायोजनको अवधारणालाई नै त्याग्नुपर्छ । विश्व नेताहरू जसका विरुद्ध ग्रहलाई बचाउन लडिरहेका छन्, तिनैबाट आतिथ्य, धन एवं दिशानिर्देश लिन सक्दैनन् । जलवायु परिवर्तनलाई रोक्न आममानिस एवं पृथ्वीलाई नाफाभन्दा माथि राख्ने अर्थव्यवस्थाको खाँचो छ र कर्पोरेट स्वार्थ रहुन्जेल यो कहिल्यै सम्भव हँदैन ।
ज्याकोबिनबाट