शीतभण्डारमा राखेको तीन सय ५० बोरा आलु कुहिएपछि किसानले खाल्डो खनेर गाडेका छन् । दमक– ४ स्थित शान्ति कोल्ड स्टोरमा राखिएको आलु कुहिएपछि कमल– २ का किसानले डोजर लगाएर खाल्डो खनी पुरेका हुन् । एक बोरामा ५० केजी आलु थियो । कृषकले गत चैतमा प्रतिबोरा ३६५ रुपैयाँ तिरेर घरमै फलाएको उन्नत जातको आलु बिउका लागि राखेका थिए ।
तर, रोप्न माटो तयार पारेर बिउ लिन जाँदा आलु सबै कुहिएको भेटिएको थियो । बिउ सबै कुहिएर दुर्गन्धित अवस्थामा पुगेपछि सोमबार सहकारीकै प्रांगणमा उक्त आलु पुरिएको हो । ‘आलु सबै कुहिएको छ । गन्हाएर बसिनसक्नु भयो । त्यसैले खाल्डो खनेर पु¥यौँ,’ आइपिएम कृषि सहकारीका कोषाध्यक्ष टंक कट्टेलले भने, ‘डोजरलाई घन्टाको दुई हजार दुई सय रुपैयाँ दिएर गाड्न लगायौँ ।’
बिउका लागि भनेर शीतभण्डारमा राखिएको आलु कुहिएपछि अहिले किसान चिन्तामा छन् । ‘बिउका लागि भनेर मामा र मेरो गरेर १३ बोरा उन्नत जातको आलु बिउका लागि कोल्ड स्टोरमा राखेको थिएँ । सबै कुहिएछ । खर्च गरेर आलु रोप्न खेत बनाएँ । तर, रोप्ने वेलामा बिउ छैन । बिउ किन्न पैसा पनि छैन,’ कमल– २ का कृषक विष्णु सेढाईं भन्छन्, ‘बिउ हुन्छ भनेर राखेको आलु खाडल खनेर गाड्नुपर्दा आफैँलाई गाडेजस्तो भएको छ ।’
शीतभण्डारमा राखेका झापा र मोरङका १० हजार ७६० बोरा आलुमध्ये ४५ सय बोरा आलु कुहिएको हो । पाँच हजार बोरा अझै हेर्न बाँकी रहेको शान्ति शीतभण्डारले जनाएको छ । झापा आलुका लागि कमल उर्वर मानिन्छ । यहाँ सरकारले आलु ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाभित्रका आलु उत्पादन गर्ने कृषकको ठूलो क्षति भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
‘यो त कल्पना नै गर्न नसक्ने गरी क्षति भयो । बेमौसममा आएको वर्षाले धान उस्तै बनायो । कम्तीमा आलुबाट राम्रो हुन्छ होला भनेका आलु पनि यस्तो हालतमा पुग्यो,’ उनले भनिन्, ‘आलुमा हाम्रो गाउँपालिका राम्रो थियो । शीतभण्डारमा बिउ कुहिएपछि समस्या भयो ।’ गाउँपालिकाले आलु कृषक किसानका लागि केही निर्णय गर्ने बताइन् । उनले संघ र प्रदेश सरकारसँग पनि आलु किसानलाई क्षतिपूर्तिका लागि पहल गर्ने उनले बताइन् ।