नेपाल स्टक एक्चेन्समा सूचीकृत ४३ हाइड्रोपावरमध्ये नौ कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बोनस तथा नगद लाभांश घोषणा गरेका छन् । जसमध्ये सर्वाधिक नगद तथा लाभांश घोषणा गर्नेमा न्यादी पावर कम्पनीले २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नगद लाभांश मात्र घोषणा गरेको छ । दुवै कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
त्यस्तै, रुरु जलविद्युत् परियोजनाले १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ प्रतिशत बोनस गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो । सानिमामाई हाइड्रोपावरले शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।