छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गौरीघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छिन्। छठ पर्वमा आज सजाइएको जलाशयमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने संस्कृति रहँदै आएको छ। यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्। व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रूपमा समापन हुनेछ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा वास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।



तस्बिर : संजित परियार/दीपेन्द्र ढुंगाना