नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूलाई संयमित भएर कर्जा लगानी गर्न आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३५औँ साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ब्याजदर समायोजन गरेर बैंकिङ प्रणालीलाई स्थिरता दिन आग्रह गरेका हुन् ।
‘हामी पनि सहजकर्ताको भूमिकामै सीमित रहन चाहन्छौँ,’ उनले भने, ‘एउटा संस्थामा समस्या परे समग्र प्रणालीमै समस्या पर्छ, त्यसैले संयमित भएर कर्जा लगानी र ब्याजदर समायोजन गर्दै प्रणालीलाई स्थिरता दिँदै जानुहोस् ।’
अधिकारीले बैंकहरूले मध्यस्थकर्ताका रूपमा लिने शुल्क कमभन्दा कम बनाउन, जोखिममा परिवर्तन नभई कर्जाको प्रिमियममा फेरबदल नगर्न र घुमाइफिराई विभिन्न शुल्क लिने काम बन्द गर्नसमेत निर्देशन दिएका हुन् ।
बैंकर्स संघको अध्यक्षमा उपाध्याय
नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसम्मत भएका छन् । मंगलबार सम्पन्न संघको ३५औँ साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी चयन भएका छन् ।
संघका सदस्यहरूमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबिआई बैंकका दीपककुमार दे, सन्राइज बैंकका सुमन शर्मा, माछापुच्छ«े बैंकका सन्तोष कोइराला र एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।
संघका पूर्वअध्यक्षहरू अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना समितिमा सल्लाहकार छन् । कार्यक्रममा अर्थविद् तथा सिटिजन्स बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्मालाई समेत बैंकर संघले सम्मानित गरेको छ ।