जाडोमा रुघाखोकीबाट कसरी जोगिने ? (भिडियो)

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

चिसो सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्। काठमाडौंसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकहरूले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आमनागरिकहरूलाई आग्रह गरेका हुन्। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे।

उनले अहिलेको मौसम कोरोनासँगै फ्लुको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए। कन्सल्ट्यान्ट फिजिसियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुँवा र धुलोबाट बच्ने, मर्निङवाकमा ननिस्कन आग्रह गरे। त्यस्तै, उनले यस्ता फ्लुहरूबाट बच्न रुघाखोकी लागेका मानिसहरूबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावी नाक, कान, मुख नचलाउन पनि आग्रह गरे। 

उनले यस्ता भाइरसबाट बच्नका लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउन सुझाव दिए। विशेषगरी  बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरू, जस्तै किड्नी, सुगर, मुटुको रोग, बाथको रोग, क्यान्सर वा न्युरोलोजिकल केही समस्या भएका मानिसहरूले विशेष ध्यान दिनुपर्ने उनले बताए। 

डा. ढुंगेलले सबै नागरिकहरूले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कोभिड– १९ का वेला गरिरहेका आचरणहरूलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए। उनले २०२२ को लागि नयाँ इन्फ्लुएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडविरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरूले इन्फ्लुएन्जाको भ्याक्सिन डाक्टरको सल्लाहबमोजिम लगाउन मिल्ने पनि जानकारी दिए। 
 

सुझावित समाचार