वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ३५ लाख १३ हजार तीन सय ७५ जना लाभान्वित भएका छन् । प्रवद्र्धन केन्द्रको २५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो । नेपाल सरकार र विभिन्न विकास साझेदारहरूको संयुक्त सहयोगमा सञ्चालित कार्यक्रममार्फत लघु जलविद्युत्बाट झन्डै ३६ मेगावाट विद्युत् उत्पादन गरेको छ । यसबाट दुई लाख ४७ हजार घरधुरीले सेवा पाएको केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले जानकारी दिए । यो अवधिमा नौ लाख ६१ हजार घरेलु सौर्य विद्युत् प्रणाली र १६ लाख सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानीघट्टको सुधार भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजनाका गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमा नै ऊर्जा खपत वृद्धि गर्न विद्युतीय सवारीसाधनको भन्सार दर घटाउनेबारे गृहकार्य भइरहेको बताइन् । ‘मन्त्रालय घटाउने प्रयासमा रहेको छ, चाँडै त्यसतर्फ प्रगति होला,’ उनले भनिन् । त्यस्तै, जहाँ जमिन त्यहाँ सिँचाइ पु¥याउने र सिँचाइमा प्रयोग हुने विद्युत्लाई अधिकतम सस्तो बनाइने बताइन् । ‘नेपालीको भान्साबाट एलपी ग्यास विस्थापन गर्ने र व्यापारघाटा कम गर्न प्रयास गरिरहेका छौँ,’ उनले भनिन् ।