माथिल्लो तामाकोसीका कर्मचारी आन्दोलित बुधबारबाट उत्पादन बन्द गर्ने चेतावनी

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत करार कर्मचारीहरू आन्दोलित भएका छन् । करार र ज्यालादारी कर्मचारीहरूलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग राख्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वतन्त्र कर्मचारी युनियन नेपालले १३ कात्तिकदेखि आन्दोलन सुरु गरेको हो । उनीहरूले सोमबार कालोपट्टी बाँध्ने, मंगलबार दुई घन्टा पेनडाउन गरी सांकेतिक विरोध जनाएका थिए । दुई दिनसम्म सांकेतिक विरोधलाई आयोजनाको व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बुधबारबाट आयोजनाको उत्पादन कार्य नै बन्द गर्ने तयारी गरेको स्वतन्त्र कर्मचारी युनियनका सचिव शेषनारायण श्रेष्ठले जानकारी दिए । आयोजनाको व्यवस्थापन पक्षले समस्या समाधानका लागि वार्ता र संवाद नगरी उल्टै धम्किपूर्ण व्यवहार गरेकाले आयोजना बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

आन्दोलनरत स्वतन्त्र कर्मचारी युनियन र आयोजनाबीच २ कात्तिक ०७८ मा ६ महिनाभित्र अस्थायी र करार कर्मचारीहरूलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने सम्झौता भएको थियो ।  सो अवधिसम्म नयाँ कर्मचारी नियुक्त नगर्ने भद्र सहमति भए पनि आयोजनाको व्यवस्थापनले कर्मचारीको कृत्रिम अभाव सिर्जना गरी आफन्तलाई रोजगारी दिएको युनियनको आरोप छ । चोरबाटोबाट कर्मचारी भर्ना सुरु गरेपछि आफूहरूसँगको सम्झौतासमेत कार्यान्वयन नहुने देखेर कडा आन्दोलन गर्नुपरेको युनियनका सचिव श्रेष्ठले बताए । उनले भने, ‘तत्काल माग सम्बोधन नभए ६ वटै युनिटबाट उत्पादन कार्य बन्द हुनेछ ।’ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा एक सय १४ जना अस्थायी, करार कर्मचारी छन् ।   

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत कर्मचारीहरूलाई तत्काल आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन आग्रह गरेका छन् । जबर्जस्ती आयोजनाको विद्युत् उत्पादन बन्द गर्ने कार्य गरेमा अत्यावश्यक सेवा सञ्चालन ऐनअन्तर्गत संलग्नहरूलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् । आयोजनाका उपप्रबन्धक इन्जिनियर विमल गुरुङले नियमअनुसार स्थायी गर्ने सहमति हुँदाहुँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु गलत भएको जनाएका छन् । उपप्रबन्धक गुरुङले आयोजनाको विद्युत्गृह तथा बाँध क्षेत्रमा प्लान्ट अप्रेसन गर्न ज्यालादारीमा ठेकेदार कम्पनीको एकजना प्राविधिकलाई काम लगाउँदैमा सम्झौता कार्यान्वयनमा शंका गर्न नहुने बताएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले समेत आयोजनाको प्लान्ट अप्रेसन बन्द नगर्न सुरक्षाकर्मी परिचालन गरिसकेको बताए ।
 

सुझावित समाचार