भारतको ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् निर्यातको अनुमति

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण
  •  बुधबारबाट ३९ मेगावाट निर्यात हुँदै 
  •  मंगलबारको औसत मूल्य प्रतियुनिट दुई रुपैयाँ ७१ पैसा भारु 
  •  दुई मुलुकको विद्युत् व्यापारमा कोसेढुंगा : ऊर्जामन्त्री भुसाल


नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको हो । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)लाई बिक्री गर्न अनुमति दिइएको हो । 

प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्नेछ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्नेछ । एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । मंगलबार राति १२ बजेदेखि पठाउने विद्युत्को औसत मूल्य प्रतियुनिट दुई रुपैयाँ ७१ पैसा भारतीय रुपैयाँ तोकिएको छ । यो नेपालीमा चार रुपैयाँ ३३ पैसाबराबर हुनेछ । सामान्यतया यही दरमा रहेर विद्युत्को कारोबार हुनेछ । 

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइइएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले १७ वैशाखबाट आवश्यक परेका वेला आइइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोसेढुंगा हो,’ उनले भनिन् । ‘हामीले प्रस्ताव गरेका चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत्गृहबाट उत्पादित विद्युत्को भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ ।’ मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलेको अवस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारवाला निकायलाई धन्यवादको पात्र भएको बताइन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत् विकासको ढोका खुलेको छ । ‘विद्युत् निर्यातको सुरुवात थोरै परिमाणबाट भए पनि चाँडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ,’ उनले भने । उनले विद्युत् व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद दिए । 

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा नेपालले विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घन्टा विद्युत् निर्यात हुनेछ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रतियुनिट विद्युत्को मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो ।

तिहारमा लोडसेडिङ हुँदैन : प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले तिहारमा निर्धक्कका साथ झिलिमिली बत्ती बाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले पर्याप्त विद्युत् उपलब्ध रहेको र भदौमा भएको उच्च मागभन्दा पनि तिहारमा न्यून विद्युत् आवश्यक पर्ने भएकाले लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणले आयोजनाको गरेको पत्रकार सम्मेलनमा भदौमा उच्च माग एक हजार ६ सय २० मेगावाट रहेकोमा तिहारमा १५ सय मेगावाट मात्र पिक लोड हुने प्रक्षेपण गरिएको जानकारी दिइयो ।

देशका विभिन्न ठाउँबाट झ्याप्प–झ्याप्प (ट्रिपिङ) बिजुली जाने गुनासोलाई गम्भीरताका साथ लिएको कार्यकारी निर्देशक घिसिङले बताए । विभिन्न ठाउँमा पोल सार्दा र स्थानीय व्यवस्थापनमा भएको कमजोरीले त्यस्तो समस्या भएको उनको भनाइ छ । अहिले देशभर जडित क्षमता दुई हजार मेगावाट पुगेको छ । त्यसमध्ये दिउँसोको समयमा दुई सय र रातिको समयमा पाँच सय मेगावाटबराबर विद्युत् खेर गइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणले अहिले वितरण प्रणाली सुधारलाई उच्च प्राथमिकतामा राखेको छ । तर, त्यसका लागि आवश्यक मिटर, ट्रान्सफर्मरलगायतका सामानको अभाव भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘समयमा नै खरिद प्रक्रिया नथाल्दा यो समस्या आएको हो,’ उनले भने । प्राधिकरणले अहिले सात लाख मिटरको खरिद प्रक्रिया थालेको छ । त्यस्तै, ट्रान्सफर्मरको अभाव तत्काल हुन नदिन नेपाल इकरात कम्पनीसँग तीन हजार ट्रान्सफर्मर खरिद सम्झौता गरेको छ । 

बेमौसमी वर्षाले १० करोडको विद्युत् खेर 
प्राधिकरणले बेमौसमी वर्षाले गर्दा १० करोड रुपैयाँबराबरको विद्युत् खेर गएको जानकारी दिएको छ । त्यस्तै, पोल र अन्य संरचना भत्किएर चार करोड रुपैयाँको क्षति पुगेको छ । तर, यो प्रारम्भिक तथ्यांक मात्र भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । केही उद्योगले अझै विद्युत् जडान नगरेको वा मात्र घटाएका छन् । 

 उद्योगलाई हजार मेगावाट आवश्यक पर्ने 
कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी एक–दुई वर्षभित्र नै एक हजार मेगावाट विद्युत्को लागि माग आउने सम्भावना देखिएको बताए । प्राधिकरणले गरेको अध्ययन सर्वेक्षणले यो तथ्य देखाएको हो । विशेष गरी रड उद्योग र अन्य उद्योगले विद्युत्को माग बढाउन सक्ने देखिएको छ । प्राधिकरणले अब हिउँदमा पनि लोडसेडिङ नहुने, तर केही वर्ष हिउँदमा भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । 
 

सुझावित समाचार