सेयर बजार १७ अंकले करेक्सन

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

उच्च अंकले बढ्दै गएको सेयर बजारमा सोमबार १७ अंकको करेक्सन आएको छ । नेप्से अघिल्लो हप्तादेखि उच्च अंकले बढिरहेकोमा सोमबार ब्रेक लागेको हो । बढिरहेको बजारमा करेक्सन हुँदै अघि बढ्नु सामान्य मानिन्छ । लगानीकर्ता यसलाई सामान्य रूपमा लिने गर्छन् । सोमबार नेप्से सूचक १७ दशमलव ७५ अंकले घटेर दुई हजार आठ सय १९ दशमलव ८६ बिन्दुमा पुगेर बन्द भएको छ । 

‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्सनमा पनि गिरावट आएको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव ८८ अंकले घटेर पाँच सय २८ दशमलव ५८ बिन्दुमा पुगेको छ । बैंकहरूको त्रैमासिक रिपोर्ट आइरहेको छ भने कम्पनीहरूले लाभांश घोषणा गरी साधारणसभा बोलाउने मिति तोकिरहेका छन् । जसको कारण सेयर बजार लामो करेक्सनमा जाने सम्भावना कम भएको लगानीकर्ता बताउँछन् ।

कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये सोमबार जलविद्युत्, फाइनान्स र माइक्रो फाइनान्समा सर्वाधिक गिरावट आएको छ । वाणिज्य बैंक र होटेल क्षेत्रमा सामान्य सुधार आएको छ । नेप्से घटे पनि सेयर खरिद–बिक्री रकममा कमी आएको छैन । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २६ कम्पनीको एक करोड ३४ लाख सेयर खरिद–बिक्री हुँदा सात अर्ब ७७ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री महालक्ष्मी विकास बैंकको रहेको छ । बैंकको सो दिन ३६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, आरएमडिसी लघुवित्तको ३६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंक, कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३४ करोड रुपैयाँदेखि २१ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

सर्वाधिक घट्ने कम्पनीमा कामना सेवा विकास बैंक, हिमालयन पावर पार्टनर, ग्रिन लाइफ हाइड्रोपावर, रिडी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । सामान्य अंकले घटेको नेप्सेमा तीनवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा, पाँचथर पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, हिमालयन जनरल इस्योरेन्स, सिभिल बैंक र लुम्बिनी विकास बैंकको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । 

सुझावित समाचार