मध्य भोटेकोसी आयोजनाको ७५ प्रतिशत काम सकियो, एक वर्षभित्र सम्पन्न हुने

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना ०७९ पुसभित्र सक्ने लक्ष्य निर्धारण गरिएको छ । ७५ प्रतिशत निर्माणको काम सकिएको आयोजनाको बाँध, बालुवा थिग्र्याउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुअगावै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७ दशमलव दुई किलोमिटर सुरुङमध्ये खन्न बाँकी चार सय १५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदातासँग छलफल गरी ०७९ को पुसभित्र निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । 

चिनियाँ ठेकेदार कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । ठेकेदार कम्पनीको सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यमा ढिलाइ र प्राकृतिक विपत्तिका कारण आयोजना लम्बिएको हो । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरूको निर्माण प्रगति उत्साहजनक देखिएको बताए । ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैँ तयार छौँ, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौँ, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौँ,’ उनले भने । 

प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना सम्पन्न हुने बताए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रोमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पुर्याएको थियो । 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । 

सुझावित समाचार