लेबनानसँग नेपाल पराजित

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो। लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल तथा मोहमद नासिर र मोहमद हेइदरले एक-एक गोल गरे।

खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुवाती अग्रता दिलाए। खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए। खेलको ७४औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो। त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए।

प्रतियोगितामा नेपाल जितविहीन रह्यो। समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अंक नै रहेको इरान दोस्रो स्थानमा रहेको छ। 

यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ। 

सुझावित समाचार