काठमाडौंको भीमसेनगोलास्थित सडकको भित्ताको रूप अचेल फेरिएको छ । लेउ लागेर कुरूप बनेको यो भित्ता अहिले विभिन्न रङ र आकृतिले रंगिएको छ । साथै, विभिन्न सन्देशले निकै सुन्दर बनेको छ । यसरी कुरूप भित्तालाई रङयाउने व्यक्ति हुन्, कलाकार लक्ष्मण श्रेष्ठ ।
भीमसेनगोलाको भित्तो मात्रै होइन, उनले वीर अस्पताल र भोटाहिटीबीचको भित्तो, माइतीघर, पुल्चोक, भृकुटीमण्ड, नेपालगन्जलगायत कैयौँ स्थानका सडक भित्तामा सचेतनामूलक चित्र कोरेका छन् । यी भित्ताका रङीबिरङी चित्रभित्र थुप्रै कथा भेटिन्छन् । सामान्य मानिसले पनि उनका सिर्जनमा प्रकृतिप्रेम, सुख, दुःख, ईष्र्या, दया भाव भेट्छन् । यी भित्तामा चराहरू प्रकृतिसँग रमाइरहेका छन्, रूखबिरुवा, किराफट्यांग्राको चित्रले भित्तामा थप सौन्दर्य थपेको छ । ‘भित्तामा हरेक व्यक्तिका भोगाइ र भोगाइलाई व्यक्त गर्न नसकेको कुरालाई देखाइएको छ,’ श्रेष्ठ भन्छन्, ‘प्रत्येक चित्रका अर्थ छन् । ती अर्थमा बेग्लाबेग्लै रङबाट चित्र बनेको छ ।’
भित्तामा चित्र बनाउँदा कलाकार लक्ष्मण श्रेष्ठले धेरै झमेला व्यहोरेका छन्, सडकबाट सत्तालाई प्रश्न गर्दा र सामाजिक यथार्थ देखाउँदा पटक–पटक
उनी त्रसित हुनुपरेको छ
कोभिड महामारीका कारण पृथ्वीमा मानव जातिलाई जटिल संकटले घेरेको छ । यस्ता अवस्थामा सडक–भित्ताहरूमा रहेका चित्रले मानिसलाई थोरै भए पनि उत्साह जगाउने उनको अनुभव छ । यस्तै, ‘क्लाइमेट चेन्ज’ को प्रभाव पनि भित्ताका चित्रमा भेटिन्छन् । उनी भन्छन्, ‘वनजंगल विनाश, नदीनाला दोहन र वातावरण प्रदूषणले पृथ्वीमा अर्काे समस्या नित्याउन सक्छ ।’ यसबारे उनले सकेको सचेतना दिने कोसिस गरेका छन् । उनले प्रकृतिसँग मानवीयता पनि जोडेका छन् । किराले बालीनाली नष्ट गर्छ । किरालाई मार्न चाराहरू हुनुपर्छ । चराहरू बाँच्न वनजंगल चाहिन्छ । यस्ता चक्रमाथि पनि चित्र कोरेका छन् ।
सत्तालाई प्रश्न गर्ने खुला स्थान
उनले भित्तामा चित्र बनाउँदा धेरै झमेला व्यहोरेका छन् । यसरी सडकबाट सत्तालाई प्रश्न गर्दा र सामाजिक यथार्थ देखाउँदा पटक–पटक त्रसित बन्ने गरेको पनि छ । उनी भन्छन्, ‘०७२ सालको भूकम्प र नाकाबन्दीपछि बढेको कालोबजारीको विरोध गर्दै भृकुटीमण्डपमा ‘मिडिल फिंगर र ग्यास सिलिन्डर’ को चित्र बनाएँ, त्यो पनि मेटिदियो ।’
नेपालमा जब ठूलो विपत्ति आउँछ, तब समाजमा कालोबजारीको बिगबिगी हुन्छ । त्यो बिपत्तिमा लुट्ने एउटा वर्ग जन्मन्छ । त्यो वर्गलाई व्यंग्य गर्नु कलाकारको दायित्व भएको उनको बुझाइ छ ।
बाँकेमा हुर्किएका श्रेष्ठले भित्ता र पर्खालमा स्ट्रिट चित्र बनाएर समसामयिक समस्यालाई ‘स्ट्रिट पेन्टिङ’मा उतारेका छन् । उनले माइतीघरको बस स्टप र पुल्चोक इन्जिनियरिङ कलेजअगाडिको बस स्टपको भित्तामा सार्वजनिक यातायातमा बालबालिका प्रयोगबारे चित्र बनाएका थिए ।
चित्रमा जनताको भाषा हुने उनको भनाइ छ । उनी भन्छन्, ‘कला जनजनको आवाज बन्नुपर्छ । यही धारणाबाट प्रेरित भएर उनले सन् २०१२ मा नेपालगन्जमा ‘संसद् भर्सेस जनता’ शीर्षकको ‘स्ट्रिट पेन्टिङ’ कोरेका थिए । पहिलो संविधानसभाको म्याद सकिने वेला बनाइएको यो चित्रमा उनले बक्सिङ रिङभित्र सांसद र जनतालाई समेत देखाएका थिए । सत्तालाई मात्रै दोष पनि लगाउँदैनन्, उनी । समाजमा भएका सबै मानिस चेतनशील हुनुपर्ने उनको मान्यता छ ।
उनले सन् २०१८ देखि काठमाडौंको सडकका भित्तामा चित्र कोर्न सुरु गरेका हुन् । भित्तामा चित्र कोर्न आवश्यक रङहरू स्वयंसेवी र स्थानीयबाटै प्राप्त गर्छन् । कहिलेकाहीँ गैरसरकारी संस्थाबाट र आफ्नै खर्चमा पनि चित्र कोर्ने गरेको उनले बताए । आगामी दिनमा पनि यो कार्य जारी रहने उनी बताउँछन् ।
यसकारण लक्ष्मणले सडक रोजे
उनी सडकका भित्तामा कुची र रङसँग खेल्न थालेको १९ वर्ष भयो । सानैदेखि चित्र कोर्न माहिर श्रेष्ठ स्टुडियोभन्दा पनि भित्तामा चित्र बनाउन मन पराउँछन् ।पेन्टिङ हरेक वर्गका मानिसको पहुँचसम्म पुग्दैन । तर, सडक सबैको पहुँचमा छ । महलदेखि झुपडीमा बस्नेसम्मको सडकमा सहज पहुँच हुन्छ । यसकारण उनले सडक रोजे । धेरैजसो नेपालीका लागि चित्रकारिता सोखको विषय मात्रै हो । बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर रहेको चित्रकलालाई खुला आकाशमुनि ल्याएर सर्वसाधारणका लागि कला प्रस्तुत गर्ने प्रयास गरेको उनी ठान्छन् ।
‘०७२ सालको भूकम्प र नाकाबन्दीपछि बढेको कालोबजारीको विरोध गर्दै भृकुटीमण्डपमा ‘मिडिल फिंगर र ग्यास सिलिन्डर’को चित्र बनाएँ, त्यो पनि मेटिदियो ।’
यसअघि सडकका भित्ता राजनीतिक दलका नारा र व्यापारिक प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएका थिए । अहिलेसम्म यी भित्तामा राजनीतिक पार्टीका अव्यावहारिक नारा पोतेर कुरूप पारियो । यस्ता नाराका साटो एउटा चित्र हेर्यो भने नागरिकले धेरै कुरा सिक्ने उनको दाबी छ ।
सबै तह, वर्ग र अवस्थाका नागरिकको आवाज उठाउने अन्तिम थलो सडक र भित्ता नै हो । अझ सीमान्तकृत स्वर र कमजोरहरूले आवाज सुनाउने ठाउँ सडक मात्रै हो । श्रेष्ठ भन्छन्, ‘त्यसैले म आफ्ना चित्र र अभिव्यक्ति सम्प्रेषण गर्न सडक नै रोज्छु ।’
सन् २०१९ ‘डेट सरकार’ काठमाडौं वीर हस्पिटल अगाडि पेन्टिङ गरेका थिए । जुन सरकारले मेटाइ दिएको थियो । उनी नेपालको प्रतिनिधित्व गर्दै भारत र बंगलादेश ठूला आर्ट प्रदर्शनीमा पनि सहभागी भइसकेका छन् । हाल उनकै गृहजिल्ला बाँकेस्थित एन एम ए पार्कमा आर्ट गरिरहेका छन् ।
यस्ता छन् लक्ष्मणका सिर्जना
‘जलाइएकी म’, ‘सचेतना भ्रूणहत्या’, बालश्रमको विरोधमा ‘चासो कसलाई’ र विकासका नाममा भइरहेको विनाशको विरोध गर्दै ‘विकास भर्सेस विनाश’ उनले बनाएका प्रमुख स्ट्रिट पेन्टिङ हुन् । नागरिक पनि देशप्रति सचेत हुनुपर्ने धारणा राख्दै उनले ‘म मस्त देश, अस्तव्यस्त’, ‘भ्रष्ट म’ जस्ता शीर्षक दिएर पनि स्ट्रिट पेन्टिङ गरेका छन् ।
भित्तामा चित्र बनाएकै कारण उनले पटक–पटक धम्की पनि व्यहोरेका छन् । केही वर्षअघि वीर अस्पताल र भोटाहिटीबीचको फुटपाथको भित्तामा उनकै समूहले रङ पोतेर ‘नालायक म’ लेखेको थियो ।
जुन चित्र काठमाडौं महानगरपालिकाले मेटिदियो । वैदेशिक रोजगारीको कहर देखाउँदै उनले चित्रमा ‘डेड सरकार’ लेखेका थिए । त्यो चित्र पनि केही दिनमै मेटियो । यस्तो नारासहित वीर अस्पताल र भोटाहिटीबीचको फुटपाथ किनारको पार्खलमा चित्र पनि बनाएका थिए, उनले ।