विश्व सहरी दिवस मनाइँदै

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

सहरी विकास मन्त्रालयको नेतृत्व र विभिन्न संघ–संस्थासँगको सहकार्यमा विश्व सहरी दिवस २०७८ मनाउन लागिएको छ । यो वर्षको मुख्य नारा ‘बेटर सिटी, बेटर लाइफ’ तयार गरिएको छ । त्यस्तै, सहायक नारा ‘अड्याप्टिङ सिटिज फर क्लाइमेट रिजिलियन्स’ रहेको छ । नारालाई स्थानीयकरण गरी नेपालमा ‘सुन्दर र सुखी जीवनको आधार ः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ तय गरिएको छ । यो अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी गरिएको विश्व सहरी दिवस २०७८ मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए ।

सहर दिवसको उपलक्ष्यमा १४ कात्तिकमा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा विषयका विशेषज्ञहरूले विभिन्न शीर्षकहरूमा कार्यपत्रको प्रस्तुतीकरण तथा छलफल हुनेछ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायत विभिन्न नगरपालिकाहरू, काठमाडौं उपत्यका विकास प्राधिकरण, राप्ट्रिय आवास कम्पनी, नगर विकास कोष, संयुक्त राष्ट्रसंघीय बसोवास कार्यक्रम, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल नगरपालिका संघ, लुमन्ती तथा विभिन्न गैरसरकारी संघ–संस्थाहरूको सहयोग एवं सहकार्यमा दिवस मनाउने तयारी छ ।

विश्व सहरी दिवस सहरी विकास मन्त्रालयको नेतृत्वमा सन् २०१९ देखि नेपालमा मनाउन थालिएको हो । विश्व सहरी दिवस सन् २०१३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले संकल्प स्थापित गरेबमोजिम पहिलो विश्व सहरी दिवस अक्टोबर २०१४ मा मनाइएको थियो । यस दिवसको उद्देश्य विकासको प्रमुख मुद्दा सहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु रहेको छ । त्यसबाहेक दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी तथा सहरी चुनौतीको सम्बोधन गर्न सबै देशबीच सहकार्यका लागि प्रेरित गर्नु छ । नेपालमा राष्ट्रिय सहरी नीति, २०६४ ले सहरीकरणका विविध चुनौतीलाई एकीकृत र समन्वयात्मक रूपमा सम्बोधन गरेको छ । सहरी विकास रणनीति २०१७ ले सहरी पूर्वाधार, सहरी वातावरण, सहरी योजना र सहरी शासन व्यवस्थापनलाई रणनीतिक रूपमा सम्बोधन गरेको छ । तर, प्रभावकारिता भने देखिँदैन । 

हरितगृह ग्यासको उत्सर्जनमा अति कम विकसित देशको हिस्सा न्यून
विश्वका ४७ अति कम विकसित मुलुकहरूबाट हरितगृह ग्यासको कुल उत्सर्जनको ४ प्रतिशत मात्र हिस्सा ओगट्ने गरेको छ । हरितगृह ग्यास उत्सर्जनमा गरिबको भूमिका न्यून भए पनि गरिब जनता बढी प्रभावित भएको शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  बढ्दो तापक्रम र वर्षामा घट्बढ भएकाले पीडितको संख्या बढेको र योसँग लड्ने तथा भिड्ने क्षमता न्यून भएको र जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको संयोजक शर्माले बताए । 

नेपाल जलवायु परिवर्तनको नकारात्मक प्रभावको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये एक हो । नेपालमा विगत केही दशकयता बाढी–पहिरो, डढेलो तथा खडेरीजस्ता जलवायुजन्य प्रकोपहरूका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ भने कृषि, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रहरूमा समेत जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू देखा परेका छन् ।

सुझावित समाचार